गोसाइकुण्डमा भक्तजनको आगमन सुरु

लोकपथ
6k
Shares

रसुवा । यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् ।

यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन (आगामी भदौ ३ गते) भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । गोसाइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जनाए ।

भगवान् शङ्करले बास लिनुभएको पवित्र कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे ।

गोसाइकुण्डका यात्री सहज यात्राका लागि आवश्यक सेवा दिने उद्देश्यले १३ वटा उपसमिति गठन गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पर्याप्त सुरक्षा व्यवस्था मिलाइसकिएकाले निर्धक्क भएर यात्रा गर्न आग्रह गरे । यात्राका क्रममा कुनै समस्या आए सुरक्षाकर्मी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, गोसाइकुण्ड क्षेत्र विकास समितिलगायत निकायमा जानकारी गराई सहयोग लिन उनले सबैमा अनुरोध गरे ।

गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा सहज हुने जेष्ठ नागरिकको अनुभव छ ।

घरबाट कुण्ड निस्कनुपूर्व कूल देवतासँग बिदा माग्ने, बेत्रावति पुगेर उत्तरगया धाममा केस मुण्डन र स्नान गर्ने, गङ्गा पुजन गरेर साथीसँग ॐ नमो शिवाय जप्दै उकालो लाग्ने, सुलाद्री पर्वत चढ्दा लौरी टेक्ने, लौरिविनायक पुगेर चढाउने मान्यता रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?