धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।
विश्वासको मतका लागि २७ मत चाहिनेमा कांग्रेस र एमालेकै सांसद पर्याप्त छन् । त्यसमा पनि सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भएको अवस्था छ ।
मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारबाही अघि बढाउने तयारी गरेका छन् ।
यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए ।
तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश जारी गरेको थियो । सरकारले अध्यादेश जारी गरी कर संकलनको वातावरण बनाए पनि बजेट शून्यताको अवस्था भने अन्त्य भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया