५८ लाख रुपैयाँ सापटी लिएर नतिर्ने ८१ वर्षीय वृद्ध पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । ५८ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का रामप्रसाद पौड्याल छन् ।

उनलाई ललितपुरको झम्सिखेलबाट पक्राउ गरिएको हो । पक्राउ परेका ती वृद्ध पौड्याललाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।

उनीमाथि लोकेन्द्रनारायण श्रेष्ठले बैंकिङ कसुरको मुद्धामा जाहेरी दिएका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय लोहितचन्द शाह र ईश्वरराज आचार्यको इजलाशले १६ मंसिर २०७७ मा उनलाई बैंकिङ कसुरको मुद्दामा बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाएको थियो । यसैगरी क्षतिपूर्ति शुल्कवापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भनेको थियो ।

सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ ।

वृद्ध पौड्यालले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेकोमा उनले फिर्ता दिएका थिएनन् । पटक–पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?