जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।
सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिक कर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझाएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।
यसैगरी, पटक पटक ताकेता गर्दासम्म राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकरी दिए ।
लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।
कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४४ करोड सङ्कलन भएको थियो ।
त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ४६ करोड ६३ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया