काठमाडौं । सौर्य एयरलाइन्सको उडान अनिश्चितकालका लागि बन्द भएको छ ।
वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि साउन २५ गतेदेखि सकिएसँगै यसको उडान अनिश्चितकालका लागि बन्द भएको हो ।
स्मरणीय के छ भने साउन ९ गते सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्दै गर्दा धावनमार्ग नजिकै दुर्घटनामा परेको थियो । सो घटनामा १८ जनाको निधन भएको थियो ।
यो दुर्घटनाले झड्का बेहोरेको सौर्य एयरलाइन्सले फेरि अर्को झड्का बेहोर्नु परेको हो ।
पर्यटन मन्त्रालयबाट हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने लाइसेन्सको अवधि सकिएको यो वायुसेवाले पर्यटन मन्त्रालयमा लाइसेन्स नवीकरणको लागि आवेदन भने दिइसकेको छ ।
मन्त्रालयले इजाजतपत्रको अवधि नवीकरणका लागि यसको बक्यौता रहे नरहेको, जहाज उडान योग्य भए नभएको र उडान अनुमति नवीकरण गर्ने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव मागेको छ ।
पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको सुझावपछि मात्रै यसको इजातपत्रको नवीकरण हुने भएको छ ।
इजाजतपत्रको अवधि सकिएपछि उडान गर्न नपाउने भएकोले त्यसअघि नै इजाजतपत्र नवीकरण गराइसक्नु पर्ने थियो । तर, कम्पनीले समयमा नै इजाजतपत्रको नवीकरण गराउन सकेन । यसैबीचमा जहाज दुर्घटनाको कारण सौर्यले थप ठूलो क्षति व्यहोरेको छ ।
सीआरजे नामक ३ वटा वायुसेवा मात्रै भएको सौर्यको एउटा जहाज दुर्घटनापछि अब दुईवटा जहाज बाँकी छन् । यी दुईवटामा पनि एउटा मात्रै जहाज उडानयोग्य भएकोले पनि सौर्यलाई पुनः उडान गर्न समस्या छ ।
सौर्य एयरलाइन्स एकातिर आर्थिक समस्यामा छ नै, अर्कोतर्फ ५ वर्षभित्रमा ५ जहाज पुर्याउपर्ने नियम उड्डयन प्राधिकरणले ल्याएको छ । भएका जहाज उडाउँदै आन्तरिक व्यवस्थापन मिलाउन खोजेपनि यसलाई इजाजत पत्र नवीकरण नहुँदा समस्या भएको छ ।
सौर्यले भद्रपुर, भैरहवा, विराटनगर, धनगढी र पोखरामा उडान गर्ने गरेको भएपनि पछिल्लोसमय काठमाडौंबाट विराटनगर र भद्रपुर मात्रै उडान गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया