जनार्दनको प्रतिवेदनले माओवादीमा तरंग : संविधान बाहेक हामीसँग न जनाधार छ, न संगठन

लोकपथ
623
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको प्रतिवेदनले यतिबेला तरंग पैदा गरेको छ ।

माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा जनार्दनले पार्टीले कठोर ढंगले आगामी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

उनले १० वर्षे सशस्त्र द्धन्द्धपछि जनतामा माओवादीप्रतिको आशा अहिले क्षयीकरण बन्दै गइरहेको बताए । १० वर्षे सशस्त्र क्रान्तिपछि संविधान बाहेक देखाउन लायक उपलब्धी नरहेको टिप्पणी गरे ।

‘माओवादी पार्टी योजनाविहिन र सङ्गठनविहिन बन्न पुग्यो, आज हामीसँग संविधानका अलावा न जनाधार छ, न सङ्गठन छ’, शर्माद्वारा जारी प्रतिवेदनमा भनिएको छ, ‘केही सीमित उपलब्धि बाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो मौलिक विकासको मोडेल छ ।’

त्यस्तै निर्वाचनपिच्छे पार्टी खुम्चिरहेकोप्रति नेतृत्वलाई अवगत गराउँदै त्यसको मुख्य कारण आफूहरुले जनतामा दिएको नारा र आश्वासन पूरा गर्न नसकेको स्पष्ट पारेका छन् । त्यसयता पटकपटक सरकारको नेतृत्वमा माओवादी पुगे पनि जनतालाई दिएको नारा बिर्सिएर पार्टी नेताहरुको शैली राजामहाराजा जस्तो भएको उल्लेख गरे ।

‘हाम्रो पार्टीको साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर हो । शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाई उठाई, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन्,’ उनले भनेका छन् ।

शर्माले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनको मतबारे पार्टीलाई अवगत गराउँदै त्यसयताको निर्वाचनमा निरन्तर खुम्चिनुमा पार्टीको कार्यशैली दोषी रहेको औल्याए । उनले पहिलो संविधान सभा निर्वाचनमा १२० सिट जितेको माओवादी संविधान बनेर दुई वटा संसद् निर्वाचन हुँदासम्म ३२ सिटमा झर्नुको कारणबारे पार्टीले गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्नेमा सुझाव दिए ।

‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ,’ शर्माको प्रतिवेदनमा लेखिएको छ, ‘त्यसपछिका चुनावमा कुल मतदाता सङ्ख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौँ ।’

शर्माले पार्टी अहिलेको अवस्थामा आइपुग्नुका कारण र माओवादीभित्रको समस्याबारे विभिन्न ९ बुँदामा पार्टीभित्रका समस्याहरुबारे प्रकाश पारेका छन् ।

जनार्दनले देखाएका माओवादीका ९ समस्याहरु :


शर्माको प्रतिवेदनमा माओवादीभित्र देखिएका ९ कारण र त्यसको व्याख्या गरिएको छ । उनले निर्वाचनपिच्छे गुम्दै गएको जनमतबारे चिन्ता जाहेर गर्ने परिपाटी निर्माण हुन नसकेको बताएका छन् । त्यस्तै पार्टीलाई जनताबाट अलग गरिएको भन्दै माथिदेखि तलसम्म परिवारवाद हाबी गरिएको बताए ।

‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र गरिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसैगरी पार्टीलाई ठिक ढंगले अघि बढाउन आवाज उठाउनका लागि समेत डर मान्नुपर्ने अवस्था आएको खुलाए ।

‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो,’ उनले लेखेका छन् ।

१. माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाती, दलित, सिमान्तकृत, मधेशी, उत्पीडित वर्ग र समुदायहरु बिस्तारै आन्दोलनबाट अलग हुँदै गए ।
२. छरपस्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन सकेन ।
३. पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गयो । फरक मतको सम्मान गर्ने संस्कार मासिदै गयो । कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफल,बहसको परिपाटी कमजोर हुन पुग्यो ।
४. पार्टीलाई आम जनताबाट अलगथलग मात्र गरिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो ।
५. पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो ।
६. विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो ।
७. पार्टी सञ्चालनको मूल्यमान्यता, विधि, पद्दतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरुप र कमिटीहरु कतिबेला के बन्छ भन्ने कुरा अन्यौलताग्रस्त रह्यो ।
८. संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहिन र एजेण्डाविहिन हुँदै समाज रुपान्तरणको अभियानमा विस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भयो । एकथरी नेता कार्यकर्ताहरु पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौतारिने वातावरण निर्माण भयो ।
९. क्रान्तिमार्फत शान्तिमा आउँदा समग्र राष्ट्रलाई संविधान सभा, संघीयता, समावेशी लोकतन्त्रको मार्गचित्रमा डोहोर्याएको माओवादी आफैँ किमकर्तव्यविमुढ हुन पुग्यो । शान्ति प्रक्रियापछिका लगभग दुई दशकसम्म यदाकदा बाहेक कार्यकर्ताहरुको उचित व्यवस्थापन त परैजावस उनीहरु कामविहीन भए । ती कार्यकर्ताहरु क्रियाशील बनाउने स्पष्ट एजेण्डा र कार्यक्रम भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?