नेपाल प्रहरी र सशस्त्रका एक सयभन्दा बढी अधिकृतहरु एकै दिन अवकाशमा

अवकाशमा जानेमा तीन जना डीआईजी र १२ जना एसएपी पनि

लोकपथ
1.9k
Shares

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत एक सयभन्दा बढी प्रहरी अधिकारीहरु एकै दिन घर जाने भएका छन् । आगामी भदौ १५ मा उनीहरु सबैले एकसाथ बर्दी फुकाल्ने छन् । यसरी बर्दी फुकाल्नेमा नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरीका १८ जना रहेका छन् ।

त्यस दिन नेपाल प्रहरीका एक जना नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरीका दुई जना डीआईजी गरी १०८ जना एकसाथ अवकाशमा जाने भएका छन् । त्यस दिन नेपाल प्रहरीका बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी र सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई अवकाशमा जाँदै छन् । डीआईजीत्रय केसी, खत्री र भट्टराईसहित यी १०८ जना २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेकाहरू हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैमा उमेरहद, सेवा अवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । अहिले सबै जना ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरुलाई १०५ टोली भनेर पनि चिनिन्छ । असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म बन्न सफल भएका थिए । काठमाडौं, भरतपुर र विराटनगरमा तालिम गरेका सो टोलीमा ४३२ जना थिए । माओवादी सशस्त्र युद्धमा यो टोली भिडेको थियो । जसमा १५ जनाले ज्यान गुमाएका थिए ।

त्यस दिन नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)पनि अवकाशमा जाने छन् । अवकाशमा जाने एसएसपीहरूमा जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, चन्द्रदेव राई, नवीन राई, दिल्लीराज विष्ट, रवीन्द्र रेग्मी र वीरबहादुर ओली छन् । यस्तै नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरू कृष्ण प्रसाईं, अवदेश विष्ट र हिराबहादुर पाण्डेसहित अवकाशमा जाँदै छन् । त्यस्तै केही डीएसपी पनि अवकाशमा जाने भएका छन् ।

आगामी भदौ १५ मा नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा जान लागेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई, एसपीहरु पूर्ण साउद, त्रिभुवन विष्ट, धनबहादुर सिंह, अशोक शाक्य, दीपेन्द्र गिरीलगायतले त्यस दिन अवकाश पाउने भएका छन् । भट्टराई भने सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि सिसं २ को सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?