काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओली सक्षम विभिन्न १५ बुँदे सुझाव पेस गरेका छन् ।
सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर बुझाइएको सुझावमा देशका समग्र समस्या समाधानका विषयहरु समेटिएका छन् ।
उनले सुुझावको १५औँ नम्बरमा संविधान संशोधनको विषयलाई प्राथमिकता दिँदै विभिन्न सुझावहरु पेस गरेका छन् ।
जसमा कुनै पनि हालतमा प्रदेश खारेज गर्न माग गरेका छन् । प्रदेश संरचनालाई लिएर जनतामा निराशा रहेको बताउँदै प्रदेश संरचनादेखि जिल्ला समन्वय समिति खारेजीको माग गरेका हुन् ।
‘इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्दछ । जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको छ,’ उनले भनेका छन्, ‘जिल्ला समन्वय समिति खारेज हुनुपर्दछ ।’
त्यस्तै उनले पक्की सडक नपुगेका पालिकालाई नगरपालिका घोषणा गरिएको भन्दै स्थानीय सरकार सम्बन्धी व्यवस्थालाई आवश्यक सुधार गर्न माग गरेका छन् ।
त्यस्तै उनले एकपटक नेपाली नागरिकता त्याग गरेको व्यक्तिहरुले पुनः नेपाली नागरिकता लिएमा त्यस्तो नागरिकलाई संवैधानिक पदहरुमा नियुक्त गर्न नहुनेमा जोड दिएका छन् । उनले घुमाउरो भाषामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति लक्षित उक्त अभिव्यक्ति दिएका हुन् ।
‘एकपटक नेपाली नागरिकता त्यागेका व्यक्तिले फेरी नेपाली नागरिकता लिएमा त्यस्तो नेपाली नागरिकलाई नेपालको संविधानको धारा १८९ (१) बमोजिम मनोनयन वा नियुक्त हुन दिनुहुँदैन । वयस्क भइसकेपछि नागरिकता त्याग्ने व्यक्ति राज्यको महत्वपूर्ण उच्च ओहोदामा नियुक्त हुँदा, ती व्यक्तिको मगजमा फेरि राष्ट्र त्यागिदिने मनोविज्ञान नआउला भन्न नसिकने भएकाले, यो व्यवस्था संविधानको मर्म कार्यान्वयनका लागि संविधानमा नै राखिन आवश्यक छ,’ उनले भनेका छन् ।
उनले रास्वपा र लामिछानेमाथि कटाक्ष गरेपछि रास्वपाले गत जेठ ६ गते रास्वपाले महामन्त्री र प्रवक्ताबाट निस्काशन गरेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकामा बसेका लामिछानेमाथि नागरिकताको विषय पेचिलो बनेपछि अदालतमा मुद्दा परेको थियो । बहालवाला गृहमन्त्री रहेको अवस्थामा नागरिकतामा केफियत देखाएपछि पुनः नागरिकता लिएर लामिछानेले पुनः निर्वाचित हुनुपरेको थियो । सोही विषयलाई उठाउँदै ढकालले रविको नागरिकता प्रकरणलाई समेत स्मरण गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया