काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारको निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार नगर्ने जनाएको छ ।
आज बसेको रास्वपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको मुद्दामा निश्चित हदम्याद राख्ने कानुन कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
‘भ्रष्टाचार निवारणको जुन कानुन बनिरहेको छ । त्यसमा हदम्याद राख्ने कुरा कदापि स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आंशकामा कुनै पनि बेला मुद्दा चल्न सक्छ । त्यसलाई कुनै पनि निश्चित समयमा राखेर विगतमा गरेका भ्रष्टाचारजन्य मुद्दाबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरुले जुन गल्ती गर्दैछन् त्यो रास्वपाले स्वीकार्दैन,’ उनले भने ।
त्यस्तै बैठकले विद्युत प्राधिकरणको बक्यौताको विषयमा जोडतोडका साथ आवाज उठाउने निर्णय भएको उनले बताए । राज्यले पाउनुपर्ने कुरा उठाउन पाउनुपर्नेमा आफूहरु दृढ रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया