‘हुलिया हेरेर सेवा दिने र बढुवाका लागि नेता–मन्त्री कहाँ धाउने प्रवृत्ति बन्द गर्नुहोस्’

लोकपथ
49
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुलाई सरुवाका लागि नेता मन्त्रीकहाँ नजानका लागि आग्रह गरेका छन् ।

सोर्सफोर्स लगाएर सरुवा बढुवा हुने कर्मचारीहरु सक्षम भए पनि अरुले हेर्ने नजर निरीह हुने बताए ।

ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहलाई सम्बोधन गर्दैै सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पौडेलले भने, ‘पोस्टिङजस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढंगले आफ्ना तर्क राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भएपनि उनीहरु वास्तवमा निरीह र कमजोर हुन पुग्छन् ।’

त्यस्तै सेवाग्रहीहरुको हुलिया हेरेर सेवा प्रभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । कहीँकतै सेवाग्राहीको हुलिया हेरेर सेवाप्रवाह ढिलो वा छिटो हुने गर्ने गरिएको भन्दै त्यसको अन्त्य गर्नका लागि आफैँ सक्रिय हुनुपर्नेमा जोड दिए ।

‘सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ । त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षा जायज, नाजायज के छन् । त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन्,’ उनले भने ।

त्यस्तै आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । जुनसुकै पृष्ठभूमिको सेवाग्राही भए पनि उनीहरुसँग मैत्रीपूर्ण व्यवहार नै असल राष्ट्रसेवकको चिनारी रहेको बताए ।

‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?