अब नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि बन्द हुन्छ : प्रधानमन्त्री ओली

लोकपथ
175
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप (टीआरसी) सम्बन्धी विधेयक पारित हुनेमा विश्वास व्यक्त गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले टीआरसी विधेयक पारित गरेर शान्तिका बाँकी काम सम्पन्न हुने बताए ।

केही देशहरुमा द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापना सही ढंगले सम्पन्न भएको भन्दै नेपालले पनि विधेयक पारित गरेर नयाँ सन्देश विश्वलाई दिने बताए । साथै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि टुंगो लगाएर द्धन्द्धको अन्तिम किस्ता पनि बन्द गर्ने बताए ।

साथै देशलाई द्वन्द्वबाट शान्तिको बाटोमा लगे पनि बाँकी रहेका कामहरु समयमा नै सम्पन्न हुन नसकेको बताउँदै अबका दिनमा त्यो कुराहरु पूरा गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गरे ।

‘हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौँ । यो प्रक्रिया हाम्रो आफ्नै हिसावको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमुनाका रुपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौँ । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरुलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ ।,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानिबनसम्बन्धी कानुनलाई लिएका छौँ । राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनका लागि बनेको विधेयक प्रतिनिधि सभामा पेस भएको थियो । आज उक्त विधेयकमाथि छलफल हुनेछ । साथै आजकै बैठकले उक्त विधेयक पारित गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?