कवाडीको भेषमा गाउँ छिर्दै चोरका गिरोह, ट्रान्सफर्मरबाट तामा चोर्ने गिरोह काभ्रे प्रहरीको नियन्त्रणमा

लोकपथ
315
Shares

काठमाडौं । कवाडी भन्नेबित्तिकै हाम्रो दिमागमा आउँछ, खाली सिसी, पुरानो कागज, फलामका टुक्रा उठाउन बोरा बोकेर कराउँदै हिँड्ने समूह । तर काभ्रे जिल्लामा भने कवाडीको त्यो आम परिचयमा नयाँपन भेटिएको छ । कवाडी संकलक बनेर थोत्रा सामान उठाउन भन्दै गाउँगाउँ छिरेका व्यक्तिहरु कवाडी नभई चोरी गर्नका लागि रेकी गर्दै हिँड्ने गिरोहसमेत रहेको पाइएको छ ।

गत साउन १९ गते काभ्रेको मंगलटार इलाका प्रहरी कार्यालय र प्रहरी चौकी भकुण्डेबेसीबाट खटिएको प्रहरी निरीक्षक कृष्ण गिरीसहितको समूहले विद्युतको ट्रान्सफर्मर फुटाएर तामा चोरी गर्नै लागेको अवस्थामा गिरोहका ७ जना सदस्यहरुलाई पक्राउ ग-यो । काभ्रेको नमोबुद्ध नगरपालिका–५, कानपुरमा ट्रान्सफर्मर फुटाएर चोरी गर्नै लाग्दा उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने व्यक्तिहरु थिए दोलखाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविन बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत र काभ्रेपलाञ्चोकका ४५ वर्षीय विष्णुबहादुर सार्की ।
यो समूहलाई पक्राउ गर्नुअघि काभ्रे प्रहरीको टाउको दुखाइको विषय बनेको थियो, चोरको यो समूह । त्यसभन्दा अगाडि पनि काभ्रेको विभिन्न स्थानमा यो समूहले विद्युतको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गर्ने गरेको थियो र राज्यलाई लाखौं रकमको क्षति भइसकेको थियो । त्यसबाहेक विद्युत र खानेपानीको आपूर्ति बन्द हुँदा समस्या बढेको थियो ।

चोरी अत्याधिक बढेपछि चोरीका गिरोहको व्यापक खोजी गरेको काभ्रे प्रहरी साउन १९ गते पनि चोरी गर्दैगर्दा यो गिरोहलाई पक्राउ गर्न सफल भएको थियो । तर गिरोहका अन्य सबै सदस्य पक्राउ पर्न नसकेकाले काभ्रे प्रहरीले यो विषय सार्वजनिक गरेको थिएन । पक्राउ परेकाहरुसँग बयान लिने क्रममा चोरीका सामान भक्तपुरमा रहेका विभिन्न कवाडी पसलमा लगी बिक्री गर्ने गरेको र चोरी गर्नका लागि रेकी गर्ने व्यक्ति कवाडी संकलन तथा कवाडी पसल सञ्चालन गर्ने व्यक्ति नै रहेको खुल्यो । त्यसपछि काभ्रे प्रहरीले भक्तपुर प्रहरीसँगको समन्वयमा ती कवाडी पसलहरुमा समेत पुगेर खानतलासी गरी केही सामान बरामद ग-यो । अनुसन्धानपछि सिन्धुपाल्चोक जिल्लाका थप तीन चोरहरु २८ वर्षका कुमार विक, ४२ वर्षका राजेश विक र २२ वर्षका सन्तोष विक पनि पक्राउ परे । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा भएको चोरीमा संलग्नमध्ये प्रहरीले कुल १० जनालाई पक्राउ ग-यो ।

पक्राउ परेकाहरुले दिएको बयानअनुसार कवाडी धनीले कवाडीको सामान लिन जाने निहुँले विभिन्न स्थानहरुमा पुगी ट्रान्सफर्मर रहेको स्थान यकिन गरेपश्चात् चोरी गर्ने गिरोहका सदस्यहरुलाई खबर गर्ने गरेको पाइएको छ । चोरी गर्ने गिरोहले त्यस्तो स्थान थाहा पाएपछि गाडी नै लिएर रातको समयमा विद्युतको पोलमा रहेको वा अन्यत्र राखिएको ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तारलाई झिकी चोरी गरी गाडीमा राखेर भक्तपुरका विभिन्न कवाडी पसलहरुमा लगी बिक्री गर्ने गरेको पाइएको छ ।

डेढ महिनामा काभ्रेकै ६ स्थानमा भएको थियो यस्तो चोरी
काभ्रेपलाञ्चोक प्रहरीका अनुसार गत असार ७ गते यता डेढ महिनाको अवधिमा काभ्रे जिल्लामा मात्रै ६ स्थानमा यस्तो चोरी भएको पाइएको थियो, जुन चोरी यही समूहले गरेको साविती बयान प्रहरीलाई दिएका छन् ।

घटना नम्बर १ : भुम्लु ९, मेलडाँडा चोरी
यही समूहले २०८१ असार ७ गते राति काभ्रेको भुम्लु गाउँपालिका–९ मेलडाँडामा ट्रान्सफर्मर फुटाएर चोरी गरेको थियो । सो दिन राति अन्दाजी १ बजेको समयमा भुम्लुको मेलडाँडामा रहेको एनसेलको टावरमा रहेको कम्पाउण्डको ताला फोडेर कम्पाउण्डभित्र रहेको २५ केभीए क्षमताको ट्रान्सफर्मर फुटाइ सो भित्र रहेको अन्दाजी ३ लाख रुपैयाँबराबरको तामाको तार र ४० मिटर ग्राउण्ड केबल तार चोरी गरेका थिए । पक्राउपछि उक्त घटनामा संलग्न रहेको भन्दै हाल अनुसन्धानको क्रममा रहेका आरोपितहरु जगन्नाथ बस्नेत, कुमार विक, सन्तोष विक, राजेश विक, विष्णु बिशुंखे र दिकुल खत्रीले वारदातमा संलग्नताको स्वीकार गरेका छन् ।

घटना नम्बर २ : तेमाल ५ मनकुलबेसी चोरी
२०८१ असार १६ गते सोही प्रकृतिको चोरी भएको थियो, काभ्रेकै तेमाल गाउँपालिका–५ मनकुलबेसीमा । तेमालको नेवारपाखा र छापडाँडा गाउँलाई खानेपानी उपभोगको लागि मनकुलबेसीमा जडान गरी राखेको निक कम्पनीको २५ केभी क्षमताको ट्रान्समिटर फुटाइ ट्रान्समिटरभित्र रहेको तामाको तार चोरी भएको थियो । उक्त घटनामा आफूहरुको संलग्नता रहेको हाल पक्राउ परेका आरोपितहरु जगन्नाथ बस्नेत, राजेश विक, विष्णु बिशुंखे, दिकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले स्वीकार गरेका छन् ।

घटना नम्बर ३ : नमोबुद्ध चोरी
यही प्रकृतिको चोरी २०८१ असार २४ गते पनि भयो । असार २४ गते राति काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ मा रहेको नमोबुद्ध बृहत खानेपानी आयोजनाको ट्रान्सफर्मर फुटाएर चोरी भयो । ५० केभी क्षमताको ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी भएको उक्त घटनामा पनि आरोपितहरु जगन्नाथ बस्नेत, राजेश विक, विष्णु बिशुंखे, दिकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतको संलग्नता रहेको पछि उनीहरुले नै स्वीकार गरे ।

घटना नम्बर ४ : नमोबुद्ध–५ साँधपोखरी चोरी
विद्युतको ट्रान्सफर्मर नै फुटाएर भएको अर्को चोरी हो, २०८१ साउन ७ गतेको । साउन ७ गते अन्दाजी बिहानको १ देखि २ बजेको समयमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधीन कार्यालय भवनको कम्पाउण्डभित्र राखेको ५० केभीए क्षमताको ३ वटा विद्युतको ट्रान्सफर्मर फुटाइ सोभित्र रहेको तामाको तार चोरी भयो । घटनामा हाल पक्राउ परेका आरोपितहरु जगन्नाथ बस्नेत, विष्णु बिशुंखे, दिकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतले घटना वारदातलाई स्वीकार गरे ।

घटना नम्बर ५ : मण्डनदेउपुर ९ रानीटार चोरी
गत साउन ११ गते पनि सोही प्रकृतिको चोरी मण्डनदेउपुर नगरपाकिला ९ रानीटारमा भयो । रानीटारको मेलम्ची जाने भित्री सडक खण्डमा रानीटार सिंचाई आयोजनाको लागि राखिएको ५० केभी क्षमताको ट्रान्सफर्मर फोरेर त्यसभित्र रहेको अन्दाजी ८० किलो तामाको तार चोरी भयो । उक्त चोरीमा पनि यही समूहको जगन्नाथ बस्नेत, बिष्णु बिशुंखे, दिकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेतको संलग्नता थियो ।

घटना नम्बर ६ : मण्डनदेउपुर ७ सोतेको चोरी
यही प्रकृतिको चोरी २०८१ साउन १८ गते पनि भयो । काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ सोतेस्थित सिंचाई, क्रसर र खानेपानीको लागि राखिएको १५० केभीको विद्युत ट्रान्सफर्मर नै चोरी भयो । उक्त चोरीमा पनि यही समूह संलग्न रहेको पाइएको छ ।

अन्य जिल्लामा पनि चोरी
यही समूहले काभ्रेपलाञ्चोक मात्रै नभएर, धादिङ, महोत्तरी, सिन्धुली लगायतका जिल्लामा पनि चोरी गर्ने गरेको बयान दिएका छन् पक्राउ परेकामध्ये एक व्यक्तिले आफूले १० वर्षदेखि निरन्तर चोरी गर्ने गरेको बयान दिएका छन् । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)मा पनि पक्राउ परेका व्यक्तिहरु पटके चोर रहेको पाइएको छ ।

गाडी नै लिएर चोरी गर्न गिरोह सक्रिय
यो समूहले ट्रान्सफर्मर चोरी तामाको तार चोरी गर्न गाडी नै लिएर जाने गरेको पाइएको छ । उनीहरुले बा१ज ७८३४ नम्बरको माईक्रो भ्यान लिएर चोरी गर्न जाने गरेको र पक्राउ पर्दा भ्यानसहित उनीहरु पक्राउ परेका थिए ।

कवाडी सञ्चालक फरार
ट्रान्सफर्मर फोरेर तामाको तार चोरी गर्न पहिले चोरी गर्न जाने स्थानको रेकी गर्ने र चोरी गरेर सामान आएपछि सस्तो मूल्यमा किन्ने कवाडी सञ्चालकहरु भने फरार रहेका छन् । भक्तपुरका विभिन्न स्थानमा कवाडी सञ्चालन गरी बसेका उनीहरुको खोजी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?