सकारात्मक सोचको विकास गरेर विदेशीनेक्रम रोक्नुपर्छ : उपप्रधानमन्त्री सिंह 

लोकपथ
77
Shares

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको औँल्याए ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औँ ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरुमा मान्छेहरुले बढि समय खेर फालिरहेको बताए । 

साथै उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए । उनले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशीनेक्रम बढिरहेको बताए । 

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए । 

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उनको भनाइ थियो । 

पूर्वमन्त्री गणेश साहले हरेक विद्यार्थीले गुरुको आशिर्वाद लिनुपर्ने बताउँदै ज्ञानवर्धक क्षेत्रमा विद्यार्थीहरु आकर्षित हुनुपर्ने बताए । आफ्नो ज्ञान विश्वमा जोड्न सुझाव दिँदै विद्यार्थीहरु सिर्जनशिल र क्रियाशील हुन सुझाव दिए । उनले मुलुकबाट पंचायती र राजतन्त्र हटाउन सफल भएपनि गरिबी हटाउन नसकेको बताउँदै नेपाली विद्यार्थीहरुलाई विदेश जान रोक्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?