आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्ने पासाङ नामगेललाई पर्यटनमन्त्रीद्वारा स्वागत 

लोकपथ
21
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किँएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । 

मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गरेका हुन् । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका शेर्पाले पाकिस्तानमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकको एउटै सिजनमा दुई पटक आरोहण गरेका थिए । 

मन्त्री पाण्डेसँगको भेटमा शेर्पाले सरकारले कल्याणकारी कोषको स्थापना गरिदिनु पर्ने धारणा व्यक्त गरेका छन् । 

उनले हिमालमा हुने दुर्घटनाहरूमा हेलि रेस्कु हुन गाह्रो हुने बताउँदै त्यसबारे आवश्यक प्रबन्ध गरिदिन र विदेशी आरोहीलाई क्याम टु–बाट आठ केजी फोहोर अनिवार्य ल्याउनुपर्ने प्रावधान भएकाले त्यसलाई सहज बनाइदिन अनुरोध पनि गरेका छन् । 

मन्त्री पाण्डेले आरोहीहरूको कल्याणकारी कोष स्थापना र फोहोर व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग बुझेर सहजीकरण गर्ने विश्वास दिलाएका छन् । 

५२ वर्षीय शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका वरिष्ठ पर्वतारोहीको रूपमा चिनिन्छन् । उनले  सन् २००४ र २००७ मा यालुङ खाङ र ल्होत्से सार दुवै चुचुरोसँगै आरोहण गरेका थिए । 

शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा चुचुरो र यालुङ खाङ र ल्होत्से सार गरी १६ वटा चुचुरोमा पाइला टेक्न सफल भएका छन् । कोरियाका अम होंङ गिलपछि शेर्पा १६ वटा चुचुरोहरुमा पाइला टेक्ने देस्रो व्यक्ति हुन् । साथै नेपालबाट १६ वटा चुचुरोमा पाइला टेक्न पहिलो भएको दाबी छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?