काठमाडौं । सोलुखुम्बुमा हिमपोखरी फुटेको आशंका गरिएको छ ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा हिमपोखरी फुटेको वा हिमपहिरो आएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लोकपथलाई जानकारी दिइन् ।
उनका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । तर त्यस क्षेत्रका ४–५ वटा घरहरु बगाएका छन् । साथै एक होस्टेलसहितको विद्यालय बगाएको छ ।
‘हिमपोखरी फुटेको वा हिमपहिरो नै हो भन्ने पत्ता लागिसकेको छैन । मानवीय क्षति भएको जानकारी नआए पनि ४–५ वटा घर र एक विद्यालय बगाएको छ,’ उनले लोकपथसँग भनिन् ।
नदीमा पानीको बहाव बढ्न थालेपछि प्रभावित हुनसक्ने स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ । साथै अहिले सुरक्षाकर्मीको परिचालन गरेर हुनसक्ने जोखिम कम गर्ने काम भइरहेको उनले बताइन् ।
‘नदीमा पानीको बहाव र लेदो बढिरहेको छ । जसकारण हुनसक्ने क्षतिलाई कम गर्न सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया