काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बजारमा आएको बाढीमा परि एक जना बेपत्ता भएका छन् ।
हिमताल फुटेर वा हिम पहिरोका कारण बाढी आएको हो भन्ने एकिन नभए पनि माथिबाट आएको लेदोसहितको बाढीले भौतिक संरचनामा ठुलो क्षति पुर्याएको छ ।
हालसम्म २० वटा घरहरु बगाएको र अन्य भौतिक संरचनामा क्षति पर्याएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले लोकपथलाई जानकारी दिइन् । उनका अनुसार २ वटा होस्टेल, एक विद्यालय भवन र एक क्लिनिक बाढीले बगाएको छ ।
‘हालसम्म एकजना स्थानीय बेपत्ता हुनुभएको जानकारी आएको छ । साथै २० वटा घर, २ वटा होस्टेल, एक क्लिनिक र विद्यालय भवन बगाएको छ,’ उनले भनिन् ।
अहिले त्यहाँका अवस्था जटिल रहेका कारण हिमताल फुटेको हो वा हिम पहिरो आएको हो भन्ने एकिन गनए सकिएको छैन । आज दिउँसो नै माथितिर स्याटेलाइटबाट हेर्दा समेत कमजोर भिजिवलिटिका कारण त्यहाँको अवस्था एकिन गनए नसकिएको उनले बताइन् । अहिले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने र सुरक्षाका थप मापदण्ड अपनाइएको उनले बताइन् ।
आज दिउँसैबाट माथितिरको अवस्था बुझ्न खोजिए पनि खराव मौसमका कारण त्यहाँ हेलिकप्टर जान सक्ने अवस्था रहेन । अहिले सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । साथै सुरक्षाका सबै व्यवस्था गरिएको छ । भोलि के कारणले बाढी आएको हो भन्ने अनुसन्धान हुन्छ,’ उनले भनिन् ।
शुक्रबार दिउँसो थामे बजार आसपासका बस्तीहरु बाढीमा डुबेको थियो । लेदोसहितको बाढी बस्तीमा पस्दा त्यहाँको जनजीवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया