आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो

लोकपथ
91
Shares

तनहुँ । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गरेको म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए। पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदैछ ।

विसं २०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शङ्कर गुरुङलाई घरको डिढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शङ्करको ज्यान गयो । सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आत्रलमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए।

वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ । यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए।

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।

वनजंगल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको विश्वकर्माले बताए । यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘वन्यजन्तुको आहार, पानी, बासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ, ’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?