काठमाडौं । हाल माओवादी केन्द्रका उपमहासचिव रहेका जनार्दन शर्मा ‘प्रभाकर’ विद्रोहबाट आएको पार्टी माओवादीभित्रका पनि विद्रोही नेता मानिन्छन् । संसद्देखि अन्य ठाउँमा समेत उनको विद्रोही चरित्रको चर्चा र आलोचना हुने गरेको छ ।
उनले पार्टी बैठकमा बोलेका शब्दहरुले माओवादीलाई सतर्क बनाउने गरेको छ । ३ दशकसम्म पार्टी नेतृत्वबाट हट्न नसकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अघि नेतृत्वको विषयमा आँखामा आँखा जुधाएर बोल्न सक्ने नेता देखिँदैनन् । यसअघि जसले नेतृत्व हस्तान्तरणको कुरा उप्कायो उसले पार्टीबाट हात धुनुपरेको उदाहरण प्रष्ट छ । नेता प्रधान मानिने कम्युनिष्ट पार्टीमा नेतृत्वको निर्णयमा आवाज उठाउनेहरु कि त किनारा लाग्छन् कि त पार्टीबाटै छुट्टिएर बस्नुपरेको स्थिति छ ।
केही दिन अघि पार्टीको स्थायी कमिटी बैठकमा प्रभाकरले राखेको प्रतिवेदनले अहिले माओवादीमा मात्र नभएर बाहिर पनि त्यसले चर्चा पाइरहेको छ । इतिहासको कालखण्डमा पटकपटक फुटको शिकार भएको माओवादीभित्र पुनः फुटको कुराले तरंग छाएको छ । प्रभाकरका अनुसार केही तत्वहरुले खुमालटारसम्म आफूले पार्टी फुटाउन लागेको विषय पुर्याए । अध्यक्ष प्रचण्डले नै प्रभाकरले पार्टी फुटाउन लागेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेतृत्वले आफूप्रति विश्वास नगरेको हो की भन्ने आशंका प्रभाकरमा छ । जसको कारण शनिबारको एक सार्वजनिक कार्यक्रममा प्रचण्ड र प्रभाकरबीच नोकझोक नै भयो ।
सो कार्यक्रममा आफूमाथि लागेको आरोपबारे प्रचण्डसँग जनार्दनले जवाफ खोजे ।
उनले इतिहासका विभिन्न कालखण्ड कोट्टयाउँदै आफूमाथि कहिले एमाले र कांग्रेसका लागि सहज मान्छे भनेर व्याख्या गरिएको भन्दै आफूमाथि लागेका नैतिक प्रश्नको जवाफ खोजे ।
एमालेसँग एकता गर्दा र भंग हुँदा होस् या कांग्रेससँग सहकार्यमा अघि सारिएको विषयमा शंका गरिनुको पछिको कारणबारे प्रचण्डसँग जवाफ मागे ।
जनार्दनको प्रतिवेदनले माओवादीमा तरंग : संविधान बाहेक हामीसँग न जनाधार छ, न संगठन
‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड ? म माओवादीको कहिले हुन्छु होला’, प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘हुन पाउनुप-यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’
त्यसो त पार्टीभित्र अर्का उपमहासचिव वर्षमान पुन र जनार्दनबीचको टकराव आउँदा बाह्य कार्ड फालेर पार्टी विवादलाई समाधान गरिने गरेको आरोप प्रचण्डमाथि लाग्दै आइरहेको छ ।
पार्टी फुटाउन लागेको प्रशंगले आफूमाथि लाग्ने गरेको दलालको संज्ञाबारे उनी प्रचण्डको अघि कडा रुपमै प्रस्तुत भए । उनले आफू दलाल जस्तो छु भन्दै प्रचण्डकै अघि प्रश्न गरे ।
‘आज म बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नि ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्, म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ,’ उनले भने ।
जनार्दनपछि बोलेका प्रचण्डले उनले उठाएका सवालमाथि जवाफ दिन चाहेनन् । उनले विभिन्न कालखण्डमा जनार्दनसँग टकराव हुने गरेको तर त्यो पार्टीको शुद्धिकरणका लागि भएको भन्दै थुम्थुम्याए । पार्टी बैठकमा जनार्दनले उठाएका प्रश्नबारे गरमागरम बहसबाट बाहिर निस्किएका प्रचण्डले पेरिसडाँडामा केही दिन अघि पत्रकारहरुलाई माओवादीबारे टाउको दुखे पनि आफूहरुमा कुनै समस्या नरहेको प्रतिक्रिया दिएका थिए ।
शनिबारको कार्यक्रममा उनले पार्टी फुटाउने हल्ला आफूले नभइ प्रतिक्रियावादीहरुले चलाएको भन्दै दोष अमुक ‘प्रतिक्रियावादी’ लाई दिए । साथै आफूले निरन्तर जनार्दनसँग बेलाबेला वैचारिक लडाइ हुने गरेको र त्यसले पार्टीलाई राम्रो बनाउने बाटोमा लगेको बताए । जनार्दनसँग ठोसिएको अगुल्टोले पार्टीमा राम्रो भएको र स्थायी कमिटी बैठकको प्रशंग फरक मत नभएर मिलेर जाने मत भएको भन्दै पार्टी विभाजनको कुरामा त्रसित नहुन आग्रह गरे ।
‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तिलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु । अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन,’ प्रचण्डले भने ।
पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरु जटिल बन्दै गएको दाहालको स्विकारोक्ति थियो । नेताहरुबीचको सम्बन्ध विगार्न केही पात्रहरुले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए ।
यो पनि
प्रचण्ड बिनाको माओवादी : ‘प्रभाकर’ले उठाए गम्भीर सवाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया