आफ्नो मान्छेलाई विभागको प्रमुख बनाउन सकसपछि शिक्षामन्त्रीले रचिन् सुरक्षा चुनौतीको नाटक

लोकपथ
1.4k
Shares

काठमाडौं । केही दिनदेखि देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि धम्की आएको भन्ने विषय सामाजिक सञ्जालदेखि सञ्चारमाध्ययममा चासोको विषय बनेको छ ।

उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर र रजिस्ट्रार लगायतलाई धम्की आएको भन्दै बिदामा बसेको भनिएको छ । यसैबीच त्रिविको सहकुलपति समेत रहेकी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत त्रिविका पदाधिकारीहरुको जीवन रक्षाको माग नै गरेकी छिन् ।

मन्त्री स्वयमले त्रिविका पदाधिकारीको जीवन रक्षाका लागि सामाजिक सञ्जालमार्फत अपिल गर्नुलाई चासोका साथ हेरिएको छ । उनले सरकारलाई भन्दा पनि आम नागरिकबाट सुझावको अपेक्षा गरेको भन्दै अर्को स्टयाटस लेखिन् ।

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु,’ । उनले सामाजिक सञ्जालमा पुनः लेखेकी छिन्, ‘यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । बिगत ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

प्राज्ञिक थलोमा प्राज्ञमाथि नै सुरक्षा माग्दै स्वयम मन्त्री नै सामाजिक सञ्जालमा उत्रिन पर्ने विषयले त्रिविका प्राध्यापकदेखि पदाधिकारीसम्मको सुरक्षा चुनौतीको विषय पुनः उब्जिएको छ ।

त्यसो त यसअघि पनि त्रिविका प्राध्यापकमाथि आक्रमण नभएको होइन । पछिल्लो उदाहरण हेर्ने हो भने नेविसंघका कार्यकर्ताहरुले समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथिको आक्रमण पछिल्लो उदाहरण हुन् ।

तर अहिले भने त्रिविका पदाधिकारीमाथि धम्की आएको भन्ने विषय समाजशास्त्र केन्द्रीय विभागका प्रमुखको नियुक्तिसँग जोडिएको छ । त्रिविको समाजशास्त्र विभागका हालका प्रमुख प्रा.डा युवराज लुईँटेलको कार्यकाल आगामी शुक्रवारबाट सकिँदैछ । त्यसअघि नै प्रमुखको नियुक्ति गर्ने तयारी गरिएको थियो । डीन कार्यालयले वरिष्ठताको आधारमा प्रा.डा टीकाराम गौतमको नाम सिफारिस गरेको थियो । वरिष्ठताका आधारमा गौतम नै विभागीय प्रमुख हुनुपर्ने हो । तर प्राध्यापकहरुले गौतमको वरियतामाथि प्रश्न उठाउँदै विवाद निकाले ।

त्यसो त विभागीय प्रमुख बनाउनकै लागि केही दिनअघि त्रिचन्द्रमा कार्यरत पासाङ शेर्पालाई त्रिवि सरुवा गरिएको थियो ।
विभागीय प्रमुख बनाउने उदेश्यका साथ शिक्षामन्त्रीकै इच्छाअनुसार शेर्पालाई विभागीय प्रमुख बनाउन लागिएको स्रोतले लोकपथलाई जानकारी दियो । स्रोतका अनुसार रातारात त्रिवि सरुवा गरिएका पासाङ एमाले निकट प्राध्यापक मानिन्छन् । साथै पहिलो नम्बरमा रहेका गौतम कांग्रेस निकट मानिन्छन् । तर आफू पावरमा रहेका बेला मन्त्री भट्टराईले एमाले निकट व्यक्तिलाई विभागीय प्रमुख बनाउन खोजेको स्रोतको दाबी छ ।

‘विभागीय प्रमुख बनाउनकै लागि त्रिचन्द्रबाट पासाङ शेर्पालाई सरुवा गरेर त्रिवि ल्याइयो । सबै प्रमाण हेर्दा गौतम भन्दा शेर्पा दोस्रो वरियतामा रहेका पात्र हुन् । तर शिक्षामन्त्रीको इच्छामा विभागीय प्रमुखमा दोस्रो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त गर्न खोजिएको र डीनले नै त्यसो गर्न रोकेपछि उहाँहरु आफैँ बखेडा झिकेर सुरक्षाको थ्रेट भन्दै बिदामा बस्नुभएको हो,’ स्रोतले भन्यो ।

त्यसो त उपकुलपति प्रा.डा. केशरजंग बराल केही दिनदेखि बिदामा रहेका छन् । उनी डेंगु लागेर बिदामा बसेका हुन् । त्यस्तै त्रिविका रेक्टर खड्क केसी र रजिस्ट्रार केदार रिजाल पनि बिदामा रहेका छन् ।

बराल स्वास्थ्य समस्या भएर बिदामा बसे पनि सुरक्षा थ्रेटका कारण बिदामा बसेको भनेर हल्ला चलाइयो ।

बाहिरबाट हेर्दा त्रिवि शैक्षिक संस्था भए पनि यसअघिका उदाहरण हेर्दा राजनीति अखडा नै हो भन्दा फरक पर्दैन । विद्यार्थी राजनीतिदेखि त्रिविको भीसी, रजिस्ट्रार, रेक्टरदेखि अन्य नियुक्ति लिनका लागि ठूलै चलखेल हुने गरेको छ ।

पछिल्लो उदाहरण हेर्ने हो भने अन्य दुई विभागको प्रमुख समेत पहिलो नम्बरको व्यक्तिलाई लत्याएर दोस्रो नम्बरमा रहेका व्यक्तिलाई नियुक्त गरियो ।

स्रोतका अनुसार अंग्रेजी केन्द्रीय विभाग र नेपाली केन्द्रीय विभागको प्रमुख फेर्दा वरिष्ठता लत्याएर आफ्नो मान्छे बनाउने खेल खेलिएको हो ।

विभागीय प्रमुखमा रेक्टर, रजिस्ट्रारदेखि शिक्षामन्त्रीसम्मको सेटिङ रहेको स्रोतको दाबी छ । अंग्रेजी केन्द्रीय विभागको प्रमुखमा वरिष्ठताका आधारमा अनिरुद्र थापाको नाम सिफारिस भएको थियो । तर पछि प्रमुखमा भने दोस्रो नम्बरमा रहेका ध्रुव कार्कीलाई नियुक्त गरिएको हो ।

त्यस्तै नेपाली केन्द्रीय विभागको प्रमुखमा वरिष्ठताको पहिलो नम्बरमा रहेका लक्ष्मण गौतमको नाम सिफारिस भएको थियो । तर अन्तिममा दोस्रो नम्बरमा रहेका कृष्ण न्यौपानेलाई नियुक्त गरिएको स्रोतले जानकारी दियो ।

शिक्षामन्त्रीले आफ्ना मान्छे विश्वविद्यालयमा भर्ती केन्द्र बनाउन नपाएपछि सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्ययममा सार्वजनिक खपतका लागि बोलेको स्रोतको दाबी छ ।

यता उपकुलपति कार्यालयका प्रमुख निर्मल मिश्रले आफूले पत्रपत्रिकामा आएर मात्रै सो विषय थाहा भएको बताए ।

विश्वविद्यालयमा पठनपाठन राम्रो भइरहेको र विश्वविद्यालयलाई त्यसको विषयमा कुनै जानकारी नआएको बताए ।

‘विश्वविद्यालयमा पढाई राम्रै भइरहेको छ । कुनै पनि त्यस्ता विषयहरु विश्वविद्यालयलाई जानकारी छैन । केही पदाधिकारीहरु बिदामा बसेको भन्ने विषय हामीले पनि पत्रपत्रिकामा आएपछि मात्रै थाहा पायौँ । तर भित्रि कुरा केहो थाहा भएन,’ उनले भने ।

यता त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पनि बाहिर हल्ला भएजस्तो त्रिविका पदाधिकारीमाथि कुनै थ्रेट नभएको बताए । पछिल्लो समाजशास्त्र विभागको प्रमुखमा आफ्नो मान्छे नहुने भएपछि नाटकीय ढंगले सुरक्षा थ्रेटलाई अघि देखाइएको बताए ।

‘यदि विद्यार्थी वा विद्यार्थी संगठन वा अन्य पक्षबाट सुरक्षा चुनौती भएको भए विश्वविद्यालय, आधिकारिक स्ववियु र प्रहरी प्रशासन छ । तर उहाँहरु कसले सुरक्षा थ्रेट दियो भन्ने नखुलाएर आफैँ मनलाग्दी बिदामा बस्ने अनि सुरक्षा चुनौती भयो भन्ने गर्नु उचित भएन,’ उनले भने, ‘यदि सुरक्षा चुनौती भए कसले दियो फोन रेकर्ड होला त्यो लिएर आउनु भएमा स्ववियुले समन्वय गरेर सबै विद्यार्थी संगठन मिलेर उहाँहरुको सुरक्षा दिन्छौँ ।’

साथै सधैँ विद्यार्थी संगठनलाई दोषी देखाएर आफूहरु उम्किन नपाउने ओझाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?