लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु

लोकपथ
0
Shares

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक रहेको आयोजना प्रमुख डा.रविन कडरियाले बताए ।

‘अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् उनले भने, ’हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।‘ लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने कडरियाको भनाइ छ ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?