काठमाडौं । उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो ।
दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गरेका हुन् । ‘विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौं हुँदै कटारी आइपुगेका छन्,’ उपरीक्षक राईले भने, ‘कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।’
बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो । कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए ।
‘गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,’ ढुङ्गेलले भने , ‘फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।’
मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया