अमेरिकामा बेपत्ता ममता काफ्लेको घरमा ‘क्राइम सिन’को टेप टाँगेर प्रहरीको सर्च अपरेसन

ममताका श्रीमानले अनुसन्धानमा सहयोग गरेनन् : प्रहरी

लोकपथ
931
Shares

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट बेपत्ता भएकी नेपाली नागरिक ममता काफ्ले भट्टको घरमा स्थानीय प्रहरीले अनुसन्धान गरेको छ । स्थानीय समय अनुसार बुधवार राती प्रहरीले ‘क्राइम सिन’ को पहेँले टेप टाँगेर सर्च गरेको हो ।

फरेन्सिक भ्यानसहित ममताको घरमा करिब एक दर्जन प्रहरी उपस्थित भई ३ घण्टा लामो सर्च गरेका थिए । ३ घण्टा लामो सर्चपछि प्रहरीले पत्रकार सम्मेलन गरेर भोलि बिहानसम्म घटनाबारे जानकारी दिने र अहिले फरेन्सिक रिपोर्ट पर्खिरहेको बताएको छ ।

भर्जिनियाको मनासस पार्कमा बस्दै आएकी २८ वर्षीय नेपाली युवती ममता काफ्ले गत साउन १६ गतेदेखि बेपत्ता भएकी थिइन् । अमेरिकामा नर्सको रूपमा कार्यरत काफ्लेको एक वर्षकी छोरी छिन् ।

बेपत्ता ममताको काफ्ले : फाइल फोटो

ममता हराएकी लामो समयपछि स्थानीय प्रहरीले उनको घरमा पहेँलो टेप टाँगेर सर्च अपरेसन चलाएको थियो । सर्च अपरेसनपछि प्रहरीले पत्रकार सम्मेलनमा फरेन्सिक रिपोर्ट पर्खिरहेको र रिपोर्ट आएपछि थप जानकारी दिने बताएको छ । साथै ममताका श्रीमान् नरेश भट्टले अनुसन्धानमा सहयोग नगरेको समेत प्रहरीले जनाएको छ । मनासस पार्क पुलिस डिपार्टमेन्टले ममताबारे सूचना संकलनका लागि सर्वसाधारणलाई पनि सहयोगका लागि आग्रह गरेको थियो ।

ममता हराएपछि तीन दिनसम्म उनका श्रीमान् नरेश भट्टले प्रहरीलाई जानकारी दिएका थिएनन् । प्रहरीमा औपचारिक रिपोर्ट भएपछि मात्रै ममताको खोजी सुरु भएको थियो ।

प्रहरीले यसअघि पनि ममताको घरमा गएर सोधपुछ गरेका थिए । यद्यपि प्रहरीले घर बाहिरैबाट सोधपुछ गरेको भए पनि घरभित्रै गएर सर्च गरेको थिएन । बुधवार साँझ भने प्रहरी सर्च वारेन्ट लिएर ममताको घरभित्रै प्रवेश गरी सर्च गरेको थियो । प्रहरीले टाँगेको पहेँलो टेप क्राइम सिनको भएको दाबी गरिएको छ ।

क्राइम सिनको टेप घटना भएको स्थानमा टाँगेर अनुसन्धान गरिन्छ । फरेन्सिक भ्यानसहित घटनास्थलमा पुगेको प्रहरीले केही दसी बरामद गरी अनुसन्धानका लागि लगेको बुझिएको छ । यद्यपि प्रहरीले अहिले नै केही बताइसकेको भने छैन ।

अहिले मनासस पार्कमा रहेको ममताको घरबाहिर र स्थानीय प्रहरी कार्यालयमा नेपाली समुदायको भिड जम्मा भएको छ । ममताका न्यायका लागि भन्दै नेपाली समुदाय फरेन्सिक रिपोर्ट नआउन्जेल प्रहरी कार्यालय अगाडि नै धर्नामा बस्ने भन्दै जम्मा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?