सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति पौडेल

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गरेका छन् । जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन्।

‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ’, उनले भने ।

आज संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको पाइन्छ भन्दै उनले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्वलाई दर्शाउने बताए । उनले यो अमृत भाषा हो भन्दै यसभित्र अमर सन्देशहरु रहेकाले जसबाट अहिले पनि हामीहरु आल्हादिन भइरहेको बताए ।

‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ’, राष्ट्रपति पौडेलले भने ।  शुक्ल यजुर्वेदलगायतका कैयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपो भूमि पनि नेपाल  भएको बताए ।

२००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणा शासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने,‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान छ ।’ 

संस्कृतमा वसुधैव कुटुम्बकम भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानव मात्रको सुख र समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै उनले यी उदात्त भावना र विचारलाई हामीले मनन र प्रयोग गर्न सक्नुपर्ने बताए ।

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुसीको विषय भएको उनको भनाइ थियो । 

सो अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङ्गेललाई पुरस्कार प्रदान गरे ।  साथै राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?