घाइतेहरुको उपचारमा कमी हुनेछैन : गृहमन्त्री

लोकपथ
56
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् । 

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका हुन् । 

सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए । 

उनले भने, ‘सडक दुर्घटनाहरु धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रुपमा आउनु भएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहेनतका साथ उद्धार गरेर केही मानिसलाई बचाउन सफल हुनु भएको छ ।’ 

यस्तै, उनले घाइतेहरुको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए ।  

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?