पुस्तकालय दिवस मनाउन समिति गठन

लोकपथ
28
Shares

काठमाडौ । सरकारले १७औँ पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ ।

विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ । राजा गीर्वाण युद्ध विक्रम शाहको शासनकालमा १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउने सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले पुस्तकालय दिवस मनाउने निर्णय गरेको हो । 

सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारीस्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले कार्यक्रम गरेको थियो । आज मूल समारोह समिति अन्तर्गतको सामाजिक तथा रचनात्मक क्रियाकलाप उपसमितिले भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । 

आइतबार त्रिभुवन विश्वविद्यालयको पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागले कार्यक्रम गर्ने बताइएको छ । यसै गरी नेपाल लाइब्रेरी फाउण्डेशनले किङ्स् कलेज बबरमहलमा पुस्तकालयसम्बन्धी विषयमा कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ । यही भदौ १२ गते राष्ट्रिय पुस्तकालयले कार्यक्रम गर्ने भएको छ । पुस्तकालय दिवसका अवसरमा सङ्घीय संसद् सचिवालयले समेत सांसदहरुका लागि कार्यक्रमको आयोजना गर्ने कार्यक्रम तय भएको मूल समारोह समितिका सदस्य सचिवसमेत रहेका  शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखा प्रमुख उपसचिव यादवचन्द्र निरौलाले राससलाई जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?