काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन् ।
शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको रेखा मुनी नपर्ने गरी आफूले काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाइ दिदीबहिनीहरुले निरपेक्ष गरिबीको रेखा मुनी पर्न नपरोस्, खान लाउन नपाउने स्थिति आउन नपरोस्, आफ्ना प्यारा सन्तानहरूलाई पढाउन लेखाउन नसक्ने स्थिति नआओस्, बिरामी हुँदा स्वास्थ्य उपचार गराउन नसक्ने अवस्था नहोस् भनेर त्यसका लागि म काम गरिरहेको छु । ’
साथै उनले आफूले गर्न लागेको हरेक काममा युवाको साथ आवश्यक हुने बताए । उनले अहिलेसम्म दुनियाँमा जति काम भएका छन् त्यो सबै युवा वर्गले गरेको बताए ।
उनले विषय विधा छुट्याएर अवसरलाई सदुपयोग गर्न हरेक युवाहरूलाई आग्रह गरे । उनले अहिले युवा अवस्थामा अवसरलाई सदुपयोग गरे उन्नति प्रगति गर्न युवाहरूको समय नलाग्ने प्रस्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया