काठमाडौं । बारा र काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित सडकमा प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक प्रवेश खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा बा.७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय मोटरसाइकल चालक आदेश लामा रहेका छन् । पथलैयाबाट सिमरातर्फ जाँदै गरेको उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक उछिट्टिएर सोही सडकमा रोकी राखेको ना.६४ प.४७५२ नम्बरको मोटरसाइकलमा ठोकिन पुगेको प्रहरीले जनाएको छ । ठोक्किएर गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ना.६४ प.४७५२ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया