काठमाडौं । साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लञ्च गरेको छ ।
काठमाडौंको दरबारमार्गमा आयोजित कार्यक्रममा साइमेक्स इंकले उन्नत प्रविधि, परिस्कृत डिजाइन र अल न्यु बीवाईडी एप सहित २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लञ्च गरेको जनाएको छ ।
ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन यस भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएकाे छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनुको साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध गराइएको छ ।
यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरेकाे कम्पनीको दाबी छ । रियर ब्याज अर्थात् पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ । यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्नुको साथै गाडीलाई आधुनिकता प्रदान गरेको छ ।
यस भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको बारेमा थाहा पाउन सकिन्छ । त्यसैगरी एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न पनि सकिनेछ ।
बीवाईडी एट्टो-३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ । सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको कम्पनीको दाबी रहेको छ ।
यो भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसै गरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो-३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।
सो लञ्च इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा वरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो अवसरमा २०२४ भर्सनको बीवाईडी एट्टो-३ को पहिलो ग्राहकलाई आचार्यले गाडी उपलब्ध गराएका थिए भने अन्य अतिथिहरुले समेत नयाँ बीवाईडी एट्टो-३ का ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया