काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुने स्पेनी नागरिकमा इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) छन् ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई ओटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर उनीहरुको खोजी गरिएको थियो । उनीहरुलाई भुरुङ्दी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । उनीहरुलले वीरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर नामसमेत दर्ता गराएको पाइएको छ । एक्याप वीरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको भएपनि फेला पार्न नसकिएको बताए ।
‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन्, खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ, अन्य कुरा फेला पार्न सकेका छैनौँ,’ उनले भने । पर्यटक हराएको जानकारी दूतावासलाई गराइसकिएको प्रवक्ता गुरुङको भनाइ छ । आज मंगलबार गोताखोरसहितको टोलीले खोलामा खोजी सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया