ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुई जना पक्राउ

एक जना माओवादी, अर्का राजावादी

लोकपथ
371
Shares

काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजद्वारा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाएको अभियोग प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र रामबहादुर बुढा छन् । पक्राउ परेकामध्ये एक जना माओवादी कार्यकर्ता र अर्को राजावादी रहेको पाइएको प्रहरीको भनाइ छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

उनका अनुसार प्राप्त फोटो र भिडियोका आधारमा केहीलाई निगरानीमा राखिएको छ । ओली र देउवाले बोल्ने बेला नाराबाजी गर्नेहरु प्रायःको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार कार्यक्रमस्थल एकै ठाउँमा जम्मा भएर होहल्ला र नाराबाजी गर्नेहरुको भिडिओबाट पहिचान गर्दा अधिकांश राजावादी र केही माओवादी कार्यकर्ता पाइएका छन् । नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । त्यसबेला आयोजकले शान्त रहन आग्रह गरेपनि उनीहरुले ओलीलगायतको कारणले देशले दुःख पाएको भन्दै चर्का नाराबाजी गरेका थिए ।

उता, आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबीसमेत गरेको छ । उनीहरुले कार्यक्रम बिथोल्न घुसपैठ गरेको आरोप आयोजकको छ । त्यसमा संलग्न व्यक्तिहरु आम युवा नभएर वर्तमान व्यवस्थाविरुद्ध परिचालितहरु रहेको विश्लेषण सरकारले गरेको छ ।

कांग्रेस सभापति देउवाले गृहमन्त्री रमेश लेखकलाई समेत सो घटनाको छानविन गर्न र अराजकता मच्चाउन खोज्ने तत्वहरुको पहिचान गरी उचित कदम चाल्न भनेका छन् ।

आफूविरुद्ध नाराबाजी भएपछि ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरेका थिए । उनले नयाँ पुस्ताले गरेको यो हर्कत नेपालीपन नभएको बताएका थिए । यस्तै देउवाले पनि नेपालको चलन यही हो ? लाज छैन रु भन्दै नाराबाजी गर्नेहरुविरुद्ध आक्रोश पोखेका थिए । उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?