काठमाडौं । काठमाडौंको शंखमुलमा ४९ वर्षीय रूपक बान्तवा राईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–७ घर भई काठमाडौं–१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमार छन् ।
प्रहरीले उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ । प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ। काठमाडौं महानगरपालिका–१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको सोमबार बिहान पौने २ बजे हत्या भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले एमके कुमारलाई बुधबार बिहान सवा १० बजे उनको डेरा कोठाबाट पक्राउ गरिएको बताए ।
एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारणले रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ । उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको प्रहरीले जनाएको छ । सोमबार बिहान साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा फेला परेपछि उनलाई सिभिल अस्पताल लगिएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको थियो । उनले सोही ठाउँमा स्नुकर हाउस सञ्चालन गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया