काठमाडौं । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण पर्सि शनिबार (भदौ १५ गते) अनिवार्य अवकाशमा जाने भएपछि सरकारले सम्भवतः आज नै नयाँ मुख्यमन्त्री नियुक्त गर्ने भएको छ ।
आज बिहीबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रबल सम्भावना रहेको समाचार स्रोतको दाबी छ ।
मुख्यसचिवको दौडमा गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा छन् ।
स्रोतका अनुसार, गृहसचिव अर्याल नै २८औँ मुख्यसचिव बन्ने सम्भावना प्रबल रहेको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने आजको बैठक नियमित भनिए पनि मुख्यसचिव नियुक्ति बैठकको एजेन्डासमेत रहेको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया