डकैती गर्न मुना पाण्डेको अपार्टमेन्ट पुगेका थिए हत्यारा, दुई वटा मुद्दा दर्ता

आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुनसक्ने

लोकपथ
623
Shares

काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या गरेको अभियोगमा त्यहाँको प्रहरीले टेक्सास राज्यबाट ५१ वर्षीय बबी सिंह साहलाई पक्राउ गरेको छ ।

पाण्डेको टेक्सासको ह्युष्टनमा गत शनिबार हत्या भएको थियो । प्रहरीले साहको तस्बिरसमेत सार्वजनिक गरेको छ । ह्युष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे मुनाको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेको जनाइएको छ ।

त्यहाँ उनीहरूले गोली प्रहारपश्चात् निधन भएकी मुनाको शव बरामद गरेका थिए । प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो । सिसीटिभी फुटेजबाट प्राप्त भएको अभियुक्तको तस्बिर सार्वजनिक भएपछि बबी त्यसै दिन साँझ बन्दुकसहित पक्राउ परेका थिए । अभियुक्त बबी शनिबार राति ८ः४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए ।पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाएका थिए । ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै ती अभियुक्तले कोठा भित्रतर्फ उनलाई धकेलेका थिए । त्यसपछि आफू पनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएको प्रहरीलाई उद्धृत गर्दै क्लिकटुह्युस्टनले उल्लेख गरेको छ । त्यसको एक घन्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए ।

२१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् । नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् । मुनाको हत्या अभियोगमा पक्राउ परेका ५१ वर्षीय शाहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ । बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले उनीविरूद्ध हत्या (क्यापिटल मर्डर) र गैरकानुनी हातहतियारविरूद्धको मुद्दा दर्ता भएको हो ।

उनलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ । सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा डकैती गर्ने क्रममा अभियुक्तले मुना पाण्डेमाथि गोली चलाएको भनिएको छ । पक्राउ परेका बबिलाई बिहीबार नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरेको छ । उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?