मोहन मैनालीकृत मुकाम रणमैदानलाई मदन पुरस्कार, प्रा.डा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री

लोकपथ
42
Shares

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत मुकाम रणमैदानले प्राप्त गरेको छ । शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले सो निर्णय गरेको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले मुकाम रणमैदानका पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय भएको बताए । मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित छ । अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपीबद्ध गरेका छन् ।

किताब अनुसन्धानमूलक गैरआख्यान हो । उनको छवि पनि गैरआख्यान लेखनमै बनेको छ । पत्रकार र वृत्तचित्र निर्मातासमेत मैनालीको उपल्लो थलो (सन् २०२०), नदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन् । उनले निर्माण गरेको ‘जोगीमाराका ज्युँदाहरू’ नामक वृत्तचित्रले पनि ख्याति कमाएको थियो । यस्तै, बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय गरेको छ । यादव भाषाशास्त्री हुन् । उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए । उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?