काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले जानकारी दिए ।
बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ । प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ ।
केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन भोलि दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ । गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।
त्यसो त महाधिवेशन बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले प्रस्तुत गरेको प्रस्तावका विषय जटिल बनेपछि सभापतिले छलफललाई तीव्रता दिएका थिए । महामन्त्री शर्माको प्रस्तावमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीदेखि सांसदसम्मको अवधि तोकिनुपर्ने कुरा उल्लेख रहेको छ । त्यस्तै अर्का महामन्त्री थापाको प्रतिवेदनमा आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने विषय समेटिएको छ । त्यसमा संस्थापनका नेताहरुको विरोध भएपछि उक्त विषय पेचिलो बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया