को बन्दैछन् नयाँ गृहसचिव ? पुस्कर र सिंहबीच चर्को प्रतिस्पर्धा

लोकपथ
434
Shares

काठमाडौं । एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त रहेको गृहसचिव बन्न अहिले मुख्यगरी चार जना सचिवले आ–आफ्नो लविइङ तिव्र पारेका छन् । सचिवहरुमा सबैभन्दा बढी आकर्षक मानिने गृहसचिव बन्न कृष्णहरि पुस्कर, विनोदप्रकाश सिंह, नारायणप्रसाद शर्मा दुवाडी र दीपक काफ्ले लविइङमा छन् ।

पुस्कर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंह महालेखा नियन्त्रण कार्यालय, दुवाडी राष्ट्रपतिको कार्यालय र काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने तयारी गरेकाले उनीहरु गृहसचिव बन्न मरिहत्ते भएर लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, यी चार जनामध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुस्कर र महालेखा नियन्त्रण कार्यालयका सचिव सिंहमध्ये एक जना गृहसचिव बन्नेछन् । पुस्कर र सिंहमध्ये पनि पुस्कर गृहसचिव बन्ने सम्भावना प्रबल छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पुस्करलाई गृहसचिव बनाउने विषयमा छलफल भइरहेको पनि स्रोतको भनाइ छ ।

पुस्करले यसअघि अर्थसचिव र सिंहले गृहसचिव भएर काम गरिसकेका छन् । पुस्करलाई गृहसचिवमा सरुवा गरिएको अवस्थामा सिंहलाई सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाएर पठाउने तयारी भएको बताइएको छ ।

उता, मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका छन् । यी दुई स्थानमा पनि सचिव सरुवा गर्नुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?