काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी २८ वर्षीया नेपाली ममता काफ्लेको घरभित्रका केही तस्बिर सार्वजनिक गरिएको छ ।
स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्बिरहरुमा उनी बस्दै आएको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।
साउन १५ गतेबाट सम्पर्कविहीन भएकी ममता बस्दै आएको घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा उनका पति नरेशलाई पक्राउ गरेको थियो । उनको बेपत्तामा श्रीमान् नरेशको हात रहेको भन्दै मनसास पार्क प्रहरीले उनलाई थुनामा राखेको छ ।
नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका रहेकोमा सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पु-याएको बताइएको छ ।
अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचानका लागि ब्लुस्टार प्रविधि प्रयोग गरेको बताइएको छ । त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताइएको छ । साथै ममता सम्पर्कविहीन भएलगत्तै उनले आफ्नो कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
ममताले नरेशसँग ३ वर्ष अगाडि मात्रै विवाह गरेकी थिइन् । फेसबुकमार्फत् चिनजान भएपछि उनीहरुको विवाह भएको थियो ।
पछिल्लो समयमा उनीहरुको सम्बन्ध खराव थियो । ममता आफ्नो काममा नगएपछि सहकर्मीहरुले प्रहरीलाई खबर गरी बुझिदिन आग्रह गरेका थिए । त्यसलगत्तै ममताको घरमा पुगेको प्रहरीले घर बाहिरबाटै ममताका श्रीमान् नरेशसँग ‘गुडविल चेक’मा आएको भन्दै ममता कहाँ छिन् भनेर सोधेको थियो ।
जवाफमा नरेशले ममता पहिले पनि आफूसँग रिसाएर एक साता बाहिरै बसेको र अहिले पनि कतै बसेको होला भन्ने जवाफ दिएका थिए । ममता हराएको ५ दिनपछि मात्रै नरेशले ममता हराएको रिपोर्ट स्थानीय प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले बल्ल औपचारिकरुपमा ममताको खोजी सुरु गरेको थियो ।
ममताका माइतीपक्षका अनुसार नरेश र ममताबीच पटकपटक झगडा भएको थियो । ममताका सासु र ससुराका कारण नरेशसँग पटकपटक झगडा भएको र सासु ससुरा आएको समयमा ममता छुट्टै बस्ने गरेको खुलेको छ । त्यसबाहेक अन्य विषयमा पनि कहिलेकाहीँ झगडा हुने गरेको नरेश आँफैले मिडियासँग स्वीकार गरेका थिए ।
प्रहरीले ममता जीवित नरहेको भन्दै नरेशले हत्या गरी शव बेपत्ता बनाएको आरोप लगाएको छ । अमेरिकामा रहेका नेपालीहरुले ममता बेपत्ता भएदेखि नै नरेशमाथि शंका गरेका थिए ।
नरेशलाई पक्राउ गरेपछि त्यहाँ रहेका नेपालीहरुले नरेश पक्राउ पर्नुलाई अचम्म नमानेको भन्दै ‘एकदिन यो हुनु नै थियो’ भन्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले सुरुवातदेखि नै नरेशमाथि शंका गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया