काठमाडौं । परिवारबाट छुटेको साढे ३ दशकपछि पुनः परिवारको साथमा पुगेका भोजपुरका प्रकाश तामाङले नागरिकता पाएका छन् ।
आइतबार भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँस्थित प्रकाशकै घरमा गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद अधिकारीले आवश्यक सरकारी प्रक्रिया पुर्याएर नागरिकता हस्तान्तरण गरेका हुन् ।
उनले आफूले नागरिकता पाउँदा ज्यादै खुसी लागेको प्रतिक्रिया दिए ।
केही दिन अघि ‘हेर्न कथा’ को ‘हराएका वर्षहरु’ मार्फत् गोरखाको चुम भ्यालीबाट उनलाई भोजपुर पुर्याइएको थियो । पत्रकार विद्या चापागाईँको टोलीले उनलाई भोजपुर पुर्याएको कथा सार्वजनिक भएपछि त्यसको चौतर्फी चर्चा पाएको थियो ।
उनले आफूले नागरिकता समेत नपाएको बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिवलाई तत्काल नागरिकता दिलाउन निर्देशन दिएका थिए । त्यससँगै गृहप्रशासनले चासो लिएर उनलाई नागरिकता दिलाएको हो ।
२०४७ सालमा झापाबाट गलैचाँ बुन्ने कामका लागि काठमाडौं आएका थिए । बाल श्रमिक भन्दै त्यहाँबाट निकालिएपछि गोरखा चुम भ्यालीका एक व्यक्तिले उनलाई घर पुर्याएका थिए । उनी त्यहीँ बसेर काम गरिरहेका थिए । तर हेर्ने कथाले उनलाई भेटाएपछि उनी घरसम्म पुग्न सफल भएका हुन् ।
नागरिकता पाएसँगै उनले केही दिनमा काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई समेत भेट्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया