काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा आइतबारदेखि स्वयंसेवक उद्धारक डिजास्टर रेस्पोन्स तालिम सञ्चालन भएको छ ।
वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा जिम्मेवारी र कार्यक्षेत्रभित्रका ठाउँहरुमा सम्पादन गर्नसक्ने कार्ययोजनाअन्तर्गत सशस्त्र प्रहरी बल नेपालले विभिन्न स्कुल/कलेजमा अध्ययनरत ५ सय जना विद्यार्थीहरुलाई तालिम दिई उनीहरुलाई प्रशिक्षक तथा स्वयंसेवक तयार गर्ने योजनाकासाथ तालिम सञ्चालन गरिएको हो ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेल र प्रगति पाठशाला कुरिनटारका प्रधानाध्यापक टंक त्रिपाठीले तालिमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रगति पाठशाला चितवन कुरिनटारमा कक्षा ८, ९, ११ र १२ मा अध्ययनरत ९३ जना छात्र/छात्राहरु सहभागी भएका सो तालिम निकट भविष्यमा सशस्त्र प्रहरी बल नेपालका आठवटै बाहिनी मुख्यालयहरुमा समेत सञ्चालन गरिने योजना रहेको छ ।
भोलि मंगलबारसम्म सञ्चालन हुने तालिममा विपद्को परिचय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, मेडिकल फस्ट रेस्पोण्डर, कोल्याप्स्ड स्टक्चर सर्च एण्ड रेस्क्यु, पानीभित्र गरिने उद्धार प्रविधि, आगलागी, बाढी, पहिरो, भूकम्पलगायतका विषयहरु समावेश गरी प्रशिक्षण गराइने छ । तालिम शिक्षालयले स्थापनाकालदेखि नै विभिन्न सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा नेपाल प्रहरी, निजामती सेवाका कर्मचारीहरुलगायत अन्य संघसंस्थाहरुलाई समेत विपद् व्यवस्थापन प्रतिकार्य तालिम तथा अभ्यासहरु गराउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया