दैलेख । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । राजमार्गका विभिन्न ठाउँको पहिरो पन्छाएपछि आइतबार बेलुका ६ बजेदेखि राजमार्गमा सञ्चालनमा आएको हो ।
भदौ १२ गते राति परेको अविरल वर्षाले राजमार्गको गगनेखोला, दहीखोला, मालचौरलगायतका दर्जनौं ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग पहिरो हटाएपछि राजमार्गको बीच बाटोमा रोकिएका सवारी साधन आइतबार बेलुका नै गन्तब्यतिर लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका थिए ।
राजमार्ग सञ्चालनमा आएसँगै गन्तब्यतिर लागेका छन् । जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक अर्थात् १०७ टन (करिब सात करोड मूल्यबराबर) को स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्गअन्तर्गत ताडी बसपार्कमा रोकिएका थिए । यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ । कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए ।
‘अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको सम्पूर्ण यात्रु महानुभावहरूमा जानकारी गराउन चाहन्छु, यो वर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नुहुन अनुरोध गर्दछु,’ उनले भने । चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्विपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो । यता जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहलले कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा भएको सडक अवरुद्ध सबै क्लियर पारिसकिएको र सवारी अवातजावत भइसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया