काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले, नागरिक उड्डयनको क्षेत्र बलियो र विश्वसनीय भए मात्र पर्यटन क्षेत्रको अभिवृद्धि र गुणात्मक विकास गर्न सकिने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६औँ वार्षिकोत्सव सामारोह एवं साधारणसभालाई सम्बोधन गर्दै उनले संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्न सक्यो भने मात्र देश विदेशमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताए ।
उनले भने,‘संस्कृति र प्रकृतिको महत्वलाई सँगसँगै एकीकृत ढंगले व्याख्या गर्न सक्यौँ भने वा परिभाषित गर्न सक्यौ भने वा बुझ्न बुझाउन सक्यौँ भने मात्र देश विदेशमा पर्यटन प्रवर्द्धन सम्भव छ । नागरिक उड्डयन क्षेत्र बलियो, विश्वसनीय र सुनिश्चितता हुनुपर्छ । किनकि पर्यटनका निम्ति आउने मान्छे कम समय, लागतमा बढी भन्दा बढी परिस्कृत र संस्कृतिको लाभ लिन चाहन्छन् । त्यसैले सस्कृति पर्यटनलाई अभिवृद्धि र गुणात्मक विकास गर्नका लागि नागरिक उड्डयनको क्षेत्र सबैभन्दा बलियो हुनुपर्छ ।’
मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय मात्र नभई निजी क्षेत्रको पनि भएको बताए । पर्यटन मन्त्रालयको भूमिका, कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउन असम्भव रहेको भन्दै निजी क्षेत्रले अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने चल्न नसक्ने उनको भनाई छ ।
उनले भने,‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मन्त्रालय होइन । निजी क्षेत्रको पनि मन्त्रालय हो । किनकि यसको भूमिका,कार्यक्षत्रको दृष्टिकोणले सरकारले मात्र मन्त्रालय चलाउँछु भनेर सोच्यो भने असम्भव छ । निजी क्षेत्रले बढी अग्रसरताकासाथ मन्त्रालय मेरो पनि हो भन्ने भावना नराख्ने हो भने हाम्रो मन्त्रालय चल्दैन् । र पर्यटन क्षेत्रको विकास हुँदैन ।’
पाण्डेले पर्यटनसँग असहज भएका सबै ऐन, कानुन, नीति नियम संशोधन गरिने बताए । यसका लागि पर्यटन मन्त्रालयले आवश्यक कार्य प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।
टानको ४६औँ वार्षिकोत्सवसँगै सोमबार आगामी दुई वर्षको लागि नयाँ कार्यसमितिसमेत चयन हुँदैछ । पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेले समूह बनाएर नै चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया