तीजमा सांगीतिक प्रस्तुति दिन नेपाली कलाकारलाई भ्याइ नभ्याई

कुन कलाकार कुन देशमा प्रस्तुति दिँदैछन् ?

लोकपथ
35
Shares

काठमाडौं । तीजका कारण अहिले नेपाली कलाकारहरुलाई विदेशमा सांगीतिक प्रस्तुति दिन भ्याइ नभ्याई छ । तीज कार्यक्रम कलाकारहरुका लागि आर्थिक उपार्जन गर्ने दरिलो माध्यम पनि हो ।

तीजको अवसर पारेर यतिबेला थुप्रै कलाकार सांगीतिक कार्यक्रमको लागि विदेशमा छन् । करिब एक दर्जन कलाकार आफ्नो प्रस्तुतिका लागि अमेरिका पुगेका छन् भने त्यतिकै कलाकार अष्ट्रेलियामा छन् ।

अभिनेत्री पल्पसा डंगोल तीजको कार्यक्रम प्रस्तुतिका लागि गत सातादेखि बेलायतमा छिन् । अहिलेसम्म उनले त्यहाँ चार वटा कार्यक्रम प्रस्तुत गरिसकेकी छन् । त्यहाँ उनको अरु कार्यक्रमको पनि तयारी भइरहेको छ । उनी तीज सकेपछि मात्रै नेपाल फर्कने मानसिकतामा छिन् । बेलायतमा तीजको अवसरमा आफूले दिने सांगीतिक प्रस्तुतिबाट कम्तीमा ६ लाख रुपैयाँ आफ्नो हातमा पर्ने उनको अनुमान छ ।

गायक तथा मोडल दुर्गेश थापा अष्ट्रेलिया पुगेर अहिले नेपाm फर्केका छन् । दुई साताअघि तिजको कार्यक्रमको लागि दुबई पुगेका थिए उनी । त्यहाँ कार्यक्रम सकेर नेपाल फर्कनेबितिक्कै उनी अष्ट्रेलियातर्फ लागे । अष्ट्रेलियामा एकसातामा उनले चार वटा कार्यक्रममा आफ्नो प्रस्तुति दिए । एक साता अष्ट्रेलियाका बसाइमा ६ लाख रुपैयाँ भन्दा बढी कमाइ भएको यी गायकको कथन छ । उनलाई अरु पनि थुप्रै देशबाट यसपटक तीजमा कार्यक्रमको प्रस्ताव आएको थियो । तर आफूले दुबई र अष्ट्रेलियामा मात्र प्रस्तुति दिन भ्याएको दुर्गेशको भनाइ छ ।

गायक बद्री पंगेनी र गायिका देवी घर्ती पनि अहिले अष्ट्रेलियामै छन् । दुई साताको बसाईमा आधा दर्जन सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेका बद्रीको अझै केही कार्यक्रम बाँकी छ । तीजको अवसर आयोजित कार्यक्रममा बद्रीलाई अहिले अष्ट्रेलियामा भ्याइ नभ्याई छ । बद्री जस्तै देवीले पनि आफ्नो त्यत्तिकै मात्रामा तीजको सांगीतिक कार्यक्रम हरेको बताएकी छिन् ।

अष्ट्रेलियामै यतिबेला गायिक कोमल ओली, गायक पशुपति शर्मा र मोडल तथा अभिनेत्री रुविन अधिकारीको टोली पनि सांगीतिक प्रस्तुतिमै व्यस्त छ । यी कलाकारहरुले यो दुई सातामा साना ठूला गरेर ८ वटा कन्सर्ट भ्याइसकेका छन् । कार्यक्रममा नृत्य प्रस्तुत गरेर त्यहाँका नेपालीलाई मनोरञ्जन दिँदै आएकी रुविनाले यस्ता कार्यक्रममा कमाई निकै राम्रो हुने बताइन् । दुई साताको अष्ट्रेलिया बसाईबाट कम्तिमा ५ लाख रुपैयाँ नेपाल ल्याउने उनको कथन छ ।

यस्तै गायिका कोमल ओलीलाई अष्ट्रेलियामा कार्यक्रम गर्न भ्याइ नभ्याई छ । तीजको अवसरमा एकपछि अर्को कार्यक्रम थपिँदै जाँदा अष्ट्रेलियाको बसाइ लम्बिएको उनको भनाइ छ । यो तीजमा अष्ट्रेलियाको प्रस्तुतिबाट राम्रै कमाइ भइरहेको उनको भनाइ छ ।

यस्तैं, गायिका ज्योति मगर, शान्तिश्री परियार, रचनन रिमाल र मोडल करिश्मा ढकाल अहिले अमेरिकामा कार्यक्रम दिनै व्यस्त छन् । गायिका ज्योतिका अनुसार उनीहरुको अझै ९ वटा कन्सर्ट बाँकी छ । तीजको अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुतिका लागि अमेरिका पुगेका यी कलाकारहरु तीजपछि अर्को दुई साता पनि आफूहरुले प्रस्तुति दिने बताउँछन् । ज्योतिले अमेरिकाको २१ वटा प्रस्तुतिको कमाइ निकै राम्रो हुने बताएकी छिन् । आफूसहित चार जना अबको दुई सातापछि बल्ल नेपाल फर्कने उनको भनाइ छ ।

अमेरिकामा रहेकी करिश्मा ढकाल विगतमा भन्दा अहिले अमेरिकामा प्रस्तुति दिँदा धेरै राम्रो कमाई भएको बताउँछिन् । ‘आर्थिक हिसावले तीज नै हाम्रो लागि दशैं हो । स्वेदशमा हुँदा विभिन्न म्युजिक भिडियोमा मोडलिङ र स्टेज कार्यक्रमले राम्रो कमाई हुन्थ्यो नै । यसपटक त अमेरिकामा झनै राम्रो कमाइ भइरहेको छ,’ उनले भनिन् ।

यस्तै गायक खेम सेन्चुरी, गायिका मिलन नेवार, मोडल अञ्जली अधिकारी, हास्य कलाकार राधिका कँडेल पनि तीज कार्यक्रम प्रस्तुतिका लागि यतिबेला अमेरिका पुगेका छन् । त्यहाँ १० दिनमा आफूहरुले ६ वटा कन्सर्टमा प्रस्तुति दिइसकेको खेमको भनाइ छ । उनीहरु अझै एक साता कन्सर्टमै व्यस्त रहनेछन् ।

तीजको अवसरमा विदेशमा हुने सांगीतिक कार्यक्रमको कमाईले खेम पनि त्यत्तिकै खुसी छन् । यसै साता राष्ट्रिय संगीतकर्मी संघ युएईले आयोजना गरेको तीज धमाका कार्यक्रमका लागि दुबई पुगेका सो संघका केन्द्रीय अध्यक्ष एवं गायक प्रकाश कटवालले पनि त्यहाँ दुई वटा प्रस्तुति दिएका छन् । दुई वटा प्रस्तुतिबाट दुई लाख रुपैयाँ पारिश्रमिक लिएका यी कलाकार पनि तीजमा विदेशमा हुने कार्यक्रमबाट कलाकारहरुका लागि राम्रो आम्दानी हुने बताउँछन् ।

यसपटकको तीजमा छिमेकी मुलुक भारतदेखि जापान, मलेसिया, यूएई, अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा जस्ता मुलुकमा रहेका नेपाली बीच यहाँबाट गएका थुप्रै नेपालीहरु सांगीतिक कार्यक्रम प्रस्तुतिसँगै त्यहाँ तीजको रौनक बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?