काठमाडौं । मंगलबार बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्ष र मेयर बालेन्द्र शाह बालेनबीच सवालजवाफ भएको छ ।
आजको बैठकमा कामनपा २३ का वडाध्यक्ष मचाराजा महर्जनले केही दिनअघि काठमाडौं महानगरपालिकाबाट जारी सूचनाबारे आपत्ति जनाए ।
मेयर बालेनले केही दिन अघि एक सूचना जारी गर्दै काठमाडौंका बागमती, विष्णुमति र मनोहरा खोला आसपास घर वा भवन बनाउँदा २० मिटर छाड्नुपर्ने सूचना जारी गरेका थिए । त्यसो त यसअघिको मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै सार्वजनिक भएको सूचनाबारे वडाध्यक्ष महर्जनले आपत्ति जनाए । उनले उक्त नियमले धेरै जनताहरु पीडित भएको भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरे । संविधानले नै व्यक्तिले निजी सम्पत्ति लिन पाउने अधिकार रहेको भन्दै महानगरपालिकाले हतारिएर उक्त सूचना जारी गरेको र त्यसले धेरै व्यक्तिलाई असर पारेको भन्दै आपत्ति जनाए ।
उक्त निर्णयले ८० हजार जनता प्रभावित भएको भन्दै सूचना फिर्ता लिन आग्रह गरे ।
‘… म आफ्नो भनाइ टुंग्याउनु भन्दा पहिला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ज्यूलाई के अनुरोध गर्न चाहान्छु भने, यी विभिन्न समस्याहरु धेरै छन् काठमाडौं महानगरमा । अहिले धेरै सुन्नमा आएको छ, म अहिले एउटा अचम्ममा चाँही के परे भनेँ, हिजो अस्ती भएको भए साना साना कुराहरुलाई पनि गोदी मिडियाहरुले प्ले गर्दथ्यो । तर यसपालीको तपाईंको एउटा सर्वोच्च अदालतको सूचनामा चाँही गोदी मिडियाहरुले कुनै प्ले गरेन । मैले यसो मनमा राखेर हेरेँ, के हो त्यो भन्दाखेरी यसले महानगरबासीबीच चाँही आगो बलिराखेको छ । यसमा खेल्यो भने त उसको पनि सुरक्षामा समस्या आउला भनेर डराएर चाँही यसो नगरेको जस्तो लाग्यो,’ उनले भने, ‘यसमा अलिकति सिरियस हुनुहोला । धेरै निर्णयहरु हतारिएर गरेमा समस्या आउने गर्दछ । त्यसैले नगरपिता भएको नाताले यसलाई सिरियस्ली लिनुहोला ।’
त्यसपछि बोलेका मेयर बालेनले त्यस विषयमा आफूहरुले निर्णय नगरेको सर्वोच्च अदालतकै आदेशको बारेमा स्पष्ट पारेको जानकारी गराए । साथै आफूहरुले सूचना मात्रै जारी गरेको तर अन्तिम निर्णय अधिकार अदालतलाई रहेको बताए ।
‘तपाईँ आफैँ कानुन पढेको मान्छेले निर्णय भन्ने शब्द प्रयोग गर्नुभयो कसरी गर्नुभयो थाहा छैन । तर हामीले सम्मानित अदालत अदालतको फैसलाको सूचना मात्रै दिएको हो । कोही मान्छे नझुक्कियोस्, कोही मान्छे नठगियोस् भनेर । त्यो सूचना आएको दिनदेखि नयाँ नक्सा पासको मुवाब्जा दिन पर्दैन, त्यो सूचना आएको दिनदेखिको चाँही मुवाब्जा दिनुपर्छ भन्यो भने मान्छे ठगिन्छ । मान्छेलाई सूचना दिनु हाम्रो प्रथम जिम्मेवारी हो । हामीले सूचना मात्रै दिएको हो । निर्णय त्यसमा केही पनि भएको छैन,’ उनले भने ।
त्यस्तै गोदी मिडियाले मेयर बालेनलाई साथ नदिएको भन्दै निर्णय फिर्ता गर्न माग गरेका वडाध्यक्षमाथि उनी कडा रुपमा प्रस्तुत भए । गोदी मिडियाको चर्चा गर्दै उनले भने, ‘अनि तपाईँले मिडिया भन्नुभयो । गोदी मिडिया भनेको इण्डियामा चाँही मोदीले चलाएको मिडिया भन्ने बुझिन्छ । तपाईँले गोदी मिडिया भनेर चाँही मैले चलाएको मिडिया भन्न खोज्नुभा हो ?,’ मेयर बालेनको प्रश्न थियो ।
त्यसलगत्तै वडाअध्यक्ष महर्जनले भने, ‘मैले तपाईँलाई भनेको छैन ।’ बालेनले पुनः प्रश्न गरे, ‘तपाईँ प्रष्ट हुनुहुन्छ नि मैले मिडिया चलाउँदिन भनेर ?’
वडाध्यक्ष महर्जनले भने, ‘मैले तपाईँले चलाउने मिडिया भनेकै छैन ।’ अझै बालेनले थपे, ‘गोदी मिडिया भनेको चाँही मोदीले चलाउने मिडिया हो ।’ वडाध्यक्ष महर्जनले आफूलाई त्यसअघि सो विषय थाहा नभएको भन्दै पुनः जवाफ फर्काए, ‘नेपाल र भारत भनेको चाँही दाजुभाइ जस्तो भएको कारणले त्यहाँ जे सुनेको हो त्यही भनेको हुँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया