कार्यपालिका बैठकमा बालेन र सुनिताबीच मतभेद

लोकपथ
210
Shares

काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलबीच मतभेद देखिएको छ ।

आज बसेको कामनपाको कार्यपालिका बैठकमा प्रमुख बालेनको निर्णयप्रति उपप्रमुख डंगोलले आपत्ति जनाइन् ।

काठमाडौंको नदीहरु आसपास २० मिटर छोडेर मात्रै घर तथा भौतिक संरचना निर्माण गर्नुपर्ने निर्णयबारे उपप्रमुख डंगोलले आपत्ति जनाएकी हुन् । केही दिन अघि बालेनले प्रमुखस्तरीय निर्णय भन्दै बागमती, विष्णुमती र मनोहरा खोलाको आसपास २० मिटर छाडेर निर्माण गरिएको संरचना मात्रै नक्सा पास हुने विषय उल्लेख गरिएको सूचना जारी गरेका थिए ।

उक्त विषयमा कार्यपालिका वा अन्य छलफल नै नगरी मेयर एक्लैले गरेको निर्णयको भारी आफूहरुले नबोक्ने समेत बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘यस्तो संवेदनशील कुरा छ, यति धेरै जनतासँग जोडिएको विषय छ । बोर्ड बैठक बसेर छलफल नगरी प्रमुखस्तरीय निर्णय भनेर सूचना जाने ? यो राम्रो पद्धती हुँदै होइन । अदालतले गर्ने निर्णय सधैं जनताको पक्षमा हुन्छ भन्ने पनि छैन । चित्त नबुझे अर्को कानुनी बाटो छ । हामी पो पुनरवलोकनमा जाने कि भनेर सूचना दिनुअघि नै छलफल पो गर्नुपथ्र्यो कि !’

त्यसअघि आजको बैठकमा प्रमुख बालेनले आफूहरुले सूचना जारी गरेर सुसूचित गराउन मात्रै खोजेको बताएका थिए । सर्वोच्च अदालतको निर्णय भन्दै आफूले सूचना जारी गरेर जनतालाई जानकारी दिन खोजेको मात्रै बताएका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनिन्, ‘भर्खरै पनि प्रमुखजीले भनिसक्नुभएको छ, हामीले सुसूचित गराउन खोजेका हौं भनेर । सुसूचित गराउँदा पनि सूचनामा कसरी लेखिएको छ भन्ने कुरा भर पर्छ । एउटा शब्दलाई खेल्ने धेरै ठाउँहरू हुन्छन् । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ। कार्यालय र वडामा धेरै जनता जान थालिसक्नुभएको छ ।’

आजको बैठकमा काठमाडौं महानगर–२३ का वडाध्यक्ष मचाराजा महर्जनले बालेनको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?