बालेनका समर्थकले चलाए ओलीको ‘अनफलो’ अभियान, ६ लाख भन्दा मुनि झर्‍यो फलोअर्स

लोकपथ
728
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा एमालेका नेता कार्यकर्ताबीच केही दिनदेखि फेसबुकमा दोहोरी चलिरहेको छ ।

यसअघि पनि विभिन्न प्रकरणका विषयमा बालेनले सामाजिक सञ्जालमा लेखेपछि तरंग पैदा हुने गरेको थियो ।

केही दिन अघि मेयर बालेनले बालश्रम शोषण गरेको आरोप लागेकी एमाले प्रदेश सांसद रेखा शर्माको विषयमा सामाजिक सञ्जालमा लेखे । उनले अदालतले समेत बालश्रम शोषण गरेको आरोपमा कारबाही गर्न आदेश दिएको तर एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई जोगाएको भन्दै लेखेका थिए ।

त्यसमा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रतिवाद गरे । उनले सामाजिक सञ्जालमा प्रतिवाद गरेका थिए । उनले सर्वोच्चको फैसला ल्याउँदै बालेनको आरोप अपुष्ट रहेको भन्दै कटाक्ष गरे । उक्त पोस्टमा एमाले समर्थकहरुले व्यापक रुपमा रिपोर्ट गरेपछि फेसबुकले उक्त पोस्ट आफैँ हटायो । त्यसपछि एमाले नेता कार्यकर्ताहरु बालेनले आत्मालोचना गर्र्दै पोस्ट डिलिट गरेको भन्दै सामाजिक सञ्जालमा खुसी मनाए । तर मंगलबार साँझ बालेनले पुनः दोषीलाई कारबाही गर्नुको सट्टा पोस्ट उडाइएको आरोप लगाए । त्यस्तै उनले आफू दोषी भए आफूलाई समाउन नभए दोषीलाई समाउन आग्रह गरे । त्यसअघि नै बालेनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा अनफलो अभियान चलाइसकेका थिए ।

करिब ६ लाख ६२ हजार हाराहारी रहेको ओलीको फेसबुक फलोअर यो समाचार तयार पार्दासम्म ५ लाख ९५ हजारमा झरिसकेको छ ।

यसअघि मंगलबार राति ८ बजेर २६ मिनेटसम्म ओलीको फलोअर्स ६ लाख २६ हजार रहेको थियो । आज बिहान ७ बजेर ३ मिनेटसम्म उनको फलोअर्स अझै घटेर ६ लाख ३ हजार रहेको थियो । अहिले पनि अनफलो अभियान जारी रहेका कारण फलोअर्स अझै घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?