पशुपति क्षेत्रमा मासु तथा मदिरा बेच्न र खान रोक, नियम उल्लंघन गरे एक महिना कैद

लोकपथ
35
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हरितालिका तीज पर्वलाई लक्षित गरेर पशुपति क्षेत्रमा मासु र मदिराजन्य पदार्थको ब्रिकीमा रोक लगाएको छ ।

जिप्रकाले विज्ञप्ति जारी गर्दै भदौ २० गते बिहीबारदेखि २२ गतेसम्म पाशुपत क्षेत्रको चार किल्लाभित्र मासु, मदिराजन्य तथा नशालु पदार्थको उत्पादन, बेचबिखन,ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको हो ।

तीजलाई व्यवस्थित र मर्यादित बनाउने उदेश्यले उक्त नियम लागू गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासन कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्वेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु बिक्री प्रतिबन्ध लगाइएको हो ।

यदी कसैले नियम उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही हुने समेत सूचित गरेको छ ।

‘…मिति २०८१/०५/२० गतेदेखि ऐ.२२ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भईजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त उक्त निर्देशनको अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार त्यस्तो व्यक्ति वा समूहलाई ५ सय रुपैयाँ जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

‘कुनै पनि ठाउँमा हुलदङ्गा वा अशान्ति भएमा वा हुनसक्ने प्रयाप्त आधारमा भएमा सो परिस्थितिलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी स ो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उदेश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँचसय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ,’ स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ मा भनिएको छ ।

त्यसो त यसअघि नै तीजलाई भड्किला नबनाउन आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?