उदयपुर । कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षिय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमा छोराको शव देखेका थिए ।’ आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो, ’वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ ।’
इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए । प्रहरी निरीक्षक महतोले भने, ‘प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौँ ।’
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर पहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, ‘तीनसय मिटर पर मूल घर थियो गए राति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।’
घटनास्थल पुगेका टारी नगरपालिकाकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिइन् । स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मूल घरको देवरहरूसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया