काठमाडौं । पटकपटक एक दलले अर्को दललाई दिएको धोकाका कारण अहिले कांग्रेस–एमाले गठबन्धनलाई समेत शंकाको नजरले हेर्न थालिएको छ ।
आम निर्वाचन सम्पन्नपछि नै एमालेका तर्फबाट कांग्रेसलाई मिलेर सरकार बनाउन प्रस्ताव नआएको पनि होइन । एमाले नेताहरुले सार्वजनिक मञ्चहरुमै पहिलो दल कांग्रेस र दोस्रो दल बनेको एमाले मिलेर सरकार बनाउन आह्वान गरेका थिए । तर माओवादी र एकीकृत समाजवादीसँग चुनावी गठबन्धनमा रहेका कारण कांग्रेसका लागि त्यो सकसको विषय बन्यो । तर २०७९ साल पुस १० गते उही कांग्रेसलाई ‘किक’ हानेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेतिर पुगेपछि राजनीतिक इतिहासमा थप अर्को धोका थपियो । त्यसो त केही समय नबित्दै पुनः त्यो गठबन्धन तोडियो र पुनः कांग्रेससँग सहकार्यको वातावरण बन्यो । त्यो पनि टिक्न सकेन र पुनः एमालेसँग माओवादीको गठबन्धन बनेपनि अन्तिममा आएर पुनः एमालेले सहकार्यका लागि कांग्रेससँग हार गुहार ग¥यो । माओवादीबाट धोका पाएको कांग्रेस त्यसमा सकारात्मक भएपछि अहिलेको सरकार बनेको हो ।
निर्वाचनबाट आएको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनु आफैँमा चुनौतीपूर्ण मानिन्छ । त्यसले लोकतन्त्रलाई सुदृढ बनाउन नसक्ने विश्लेषकहरुले तर्क गरिरहेका बेला असार १७ को मध्यरातको सहमतिपछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हालसम्म टिकिरहेको छ । यता प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले भने यो सरकार लामो समयसम्म नजाने भनेर डंका पिटिरहेको छ । यो स्थितिमा एमाले र कांग्रेस नेताहरु भने आगामी निर्वाचनसम्मै यो गठबन्धन जाने बताइरहेका छन् ।
केही समयअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आफूले कांग्रेससँग भएको सहमतिअनुसार एक साता पहिल्यै सरकारको नेतृत्व हस्तान्तरण गर्ने वचन दिएका छन् । अन्य नेताहरु पनि धोका नहुने र मुलुकलाई स्थिरता दिने भनिरहेका छन् । बाहिरको शंकाको हल्ला चिर्न दुबै दलका नेताहरु लागिरहेका छन् । दुवै दल मिसन–२०८४ लाई टार्गेट बनाएर हिँडेका छन् ।
दुवैले निर्वाचनअघिसम्म सहकार्य गर्ने र आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् । नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले एक प्रतिवेदन पास गर्यो, जसमा कुनै पनि दलसँग कांग्रेसले चुनावी गठबन्धन गर्ने छैन ।
महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रतिवेदन पास भइसकेको अवस्थामा कांग्रेस आगामी निर्वाचन एक्लै लड्नेछ भने अबको बाँकी समय गाउँगाउँ पुगेर संगठन सुदृढीकरण गर्न लाग्नेछ ।
कहिले वामपन्थी एकताको नाममा त कहिले चुनावी गठबन्धनको नाममा दुवै दलले एक्ला एक्लै चुनाव लडेका छैनन् । २०७४ को निर्वाचनमा माओवादी बोकेको एमाले र गत निर्वाचनमा उही माओवादी बोकेको कांग्रेस एक अर्कासँग सशंकित भने छन् ।
किनकी दुवै दलले कुनै दललाई चुनावी गठबन्धनमा साथ लिएर गएमा दुई शक्तिको वास्तविक परीक्षण हुन सक्ने छैन ।
जसकारण दुवै दल सकेसम्म एक्लाएक्लै लडेर आफ्नो शक्ति देखाउन चाहान्छन् । तर निर्वाचनका बेला अन्य दल च्यापेर चुनाव लड्ने पो हो की भन्ने शंका एकअर्कालाई छ । केन्द्रीय कमिटी बैठकबाटै कुनै दलसँग गठबन्धन नगर्ने घोषणा गरेको कांग्रेसलाई एमाले पनि आफू आगामी निर्वाचनमा एक्लै लड्ने विषयमा आश्वस्त पार्न खोजिरहेको छ ।
त्यतिमात्र होइन निर्वाचनसम्म यही गठबन्धनलाई टिकाएर राख्ने र त्यसमा आफूहरुबाट धोका नहुने दुवै दलले एकअर्कालाई भनिरहेका छन् ।
त्यसो त नेकपा एमालेले पनि आगामी निर्वाचनमा वामपन्थीको नाममा एकता र कुनै गठबन्धन नगर्ने बताएको छ ।
बुधबार सम्पन्न एमालेको पोलिटब्यूरो बैठकमा बोल्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा कांग्रेसले एक्लै चुनाव लड्छु भन्ने विषयमा चर्चा भएको बताए । साथै एमाले यसअघि एक्लै चुनाव लडेको बताउँदै आफ्नै नीति तथा कार्यक्रमका आधारमा अघि बढ्ने र निर्वाचनमा जानेगरी पार्टीमा छलफल भएको बताए । साथै यसबीचमा कुनै मोर्चा बन्ने कुरामा कुनै शंका नगर्नसमेत आग्रह गरे ।
‘नेपाली कांग्रेसले एक्लै चुनाव लड्छु भन्ने कुराको पनि बैठकमा विभिन्न कोणबाट कुरा उठेको थियो । त्यसमा एमाले पनि एक्लै आफ्नो नीति तथा कार्यक्रम आधार बोकेर हिजो पनि चुनाव गठबन्धनसँग लडेको हो । आज पनि एक्लै चुनाव लड्छौँ भनेका छौँ र कसैको बैशाखी टेक्दैनौँ । वामपन्थीको नाममा कुनै मोर्चा बन्छन् कि भन्ने विषयमा पनि विभिन्न कोणबाट छलफल भएर हामीले अन्तिम निष्कर्षमा अहिले वामपन्थीका नाममा कुनै मोर्चा हुने/बन्ने सम्भावना छैन,’ उनले भने ।
उता गृहमन्त्री रमेश लेखकले पनि वर्तमान सरकार आगामी निर्वाचनसम्म जाने कुरामा कुनै शंका नगर्न आग्रह गरिरहेका छन् । आफ्नो गृहजिल्ला कञ्चनपुर पुगेका उनले भने, ‘दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ । यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’
स्थिरताका नाममा दुई ठूला दलको मिल्तीलाई सकारात्मक साथै शंकाको कोणबाट समेत हेरिएको छ । राजनीतिमा बढ्दो अस्थिरतालाई चुनौती दिन बनेको भनिएको कांग्रेस–एमालेको सहकार्य टुटेर अस्थिरताको अर्को खुड्किलो थपिएला वा पहिलो र दोस्रो दलको मिलान देशका लागि अवसर बन्ला त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया