काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि सबै तयारी पुरा भएको जानकारी गराएको हो ।
पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए ।
यसैगरी तेस्रो लाम पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीस पुतली–गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको बताइएको छ ।
मेलामा चोरी र लुटपातको घटनाहरु हुन नदिन कोषले महिला दिदिबहिनिहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म ससाना कलबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ ।
नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै बिहीबारदेखि सुरक्षा व्यवस्था कडा पारिएको कोषले जनाइको छ ।
पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।
सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।
जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, बागमतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति संगीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्र पार्क तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया