काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अतिवादी दृष्टिकोणबाट अस्थिरता मच्चाउन लागेका टिप्पणी गरेका छन् ।
उनले प्रतिपक्षी दलको नेताका हैसियमा संसद्मा उनले दिएको अभिव्यक्ति असंसदीय रहेको बताउँदै प्रचण्डबाट अस्थिरता मच्चाउने काम भइरहेको बताए ।
बिहीबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिपक्षी दलको नेताले बंगलादेश र श्रीलंकाको उदाहरण दिने कुरा लोकतन्त्रका लागि सैह्य नहुने बताए ।
‘प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्चाउने काम भइरहेको छ । प्रतिपक्ष दलका नेताको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ । प्रतिपक्ष दलको नेताले श्रीलंका र बंगलादेशमा उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन,’ उनले भने ।
पछिल्ला दिनहरुमा महासचिव पोखरेलले देश दुई दलीय प्रणालीमा जान लागेको भन्ने विषयको चर्चा चलिरहेको छ । सो विषयमा स्पष्ट पार्दै उनले आफूले मुलुकको स्थायित्व र विकासका लागि २ दल भए पुग्छ भन्ने अभिव्यक्ति दिएको बताए ।
अमेरिका लगायत कतिपय देशहरुमा वर्षौँदेखि दुई दलमात्रै रहेको बताउँदै नेपालमा पुँजीवादको सुधार की साम्यवाद दुई विचारधारा चर्चामा रहेको बताए ।
‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको हो । अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ । संसद्को जननी बेलायतमा अरु दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ’, महासचिव पोखरेलले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन बलिया दुई दल भए पुग्छ भनेको हो । मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया